Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौं, किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल स्पोर्ट्स पार्क ब्लू च्याम्पियन बनेको हो।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोर्ट्स पार्क ब्लूले निर्धारित ओभरमा २ विकेट गुमाउँदै ९८ रनको बलियो योगफल तयार गरेको थियो। टोलीका लागि नरेन्द्रले सर्वाधिक ३७ रन बनाए भने आश्रयले २० रनको योगदान दिए। ब्याकयार्ड बीका बलरमध्ये क्रिशले १ विकेट लिँदा १९ रन खर्चिए भने सृजलले विकेटविहीन रहँदै ९ रन दिएका थिए।

९९ रनको लक्ष्य पछ्याएको ब्याकयार्ड बी भने ७ विकेट गुमाउँदै २२ रनमै समेटियो। ब्याकयार्ड बीका लागि सृजलले ८ रन तथा क्रिशले ३ रन बनाए। यससँगै रोयल स्पोर्ट्स पार्क ब्लूले फाइनलमा ७६ रनको फराकिलो जित निकाल्दै किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि जित्न सफल भयो ।

फाइनल खेल सुरु हुनुअघि स्वर्गीय निर्मल पुर्जा (निम्सदाइ) को सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा फाइनलमा पुगेका रोयल स्पोर्ट्स पार्क ब्लू र ब्याकयार्ड बीका खेलाडीहरू, आयोजक समिति तथा उपस्थित सम्पूर्ण व्यक्तिहरूले दुई मिनेट मौनधारण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको समेत उपस्थिति रहेको थियो। उनले खेलकुदको माध्यमबाट युवाहरूलाई एकताबद्ध गर्दै सकारात्मक दिशातर्फ अघि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतियोगिताकी ब्रान्ड एम्बेसडर रजिना बिष्टको उपस्थितिले पनि प्रतियोगितालाई थप विशेष बनाएको थियो। नेपाली खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएकी बिष्टलाई प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा जोड्दै आयोजकले युवा खेलाडीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको जनाएको छ।

व्यक्तिगत विधामा प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हर्षल भण्डारी कुल ७ विकेटसहित उत्कृष्ट बलर घोषित भए। त्यस्तै अमित श्रेष्ठले कुल १०६ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यानको उपाधि हात पारे। प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका लक्ष्मण देवकोटा ९निम्सभाइ० कुल १७ विकेटसहित प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।

प्रतियोगिताको सफल समापनसँगै आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोली, खेलाडी, अफिसियल, दर्शक, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। त्यसैगरी आयोजक समितिले प्रतियोगिताका सम्पूर्ण प्रायोजक तथा साझेदारहरूप्रति विशेष आभार व्यक्त गरेको छ।

फुड एन्ड हाइड्रेसन पार्टनर जोयज् बर्गर, एजुकेसन पार्टनर फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सी, ट्राभल पार्टनर पाङ्गोलिन ट्राभल्स, बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड तथा इन्टरटेन्मेन्ट पार्टनर द वन्डरल्यान्डले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रतियोगितालाई लुम्बिनी विकास बैंक लिमिटेड र रोयल चिया घरको समेत सहयोग रहेको थियो।

प्रतिस्पर्धात्मक खेल, उत्कृष्ट व्यक्तिगत प्रदर्शन र उत्साहपूर्ण सहभागितासहित सम्पन्न किङ्स टी–१० इन्डोर प्रतियोगिता सिजन–२ ले नेपाली इन्डोर क्रिकेटमा थप उत्साह र ऊर्जा थपेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय