Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

काठमाडौं, पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाउने व्यवस्था सुरु गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जनाएको छ। नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको समन्वयमा वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर रहने मन्त्रालयको भनाइ छ। यस कदमबाट काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र समाधान हुने मन्त्रालयले दाबी गरेको छ।

भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा लेदो जमेर सडक अवरुद्ध भएको थियो भने कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। विपद्को अवस्थामा नागरिकलाई ग्यास आपूर्तिमा कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

साथै, मन्त्रालयले भोटेकोशी नदीको बाढी र देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय