Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

इस्लामाबाद, पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री शरीफले आज इस्लामाबादस्थित नेपाली राजदूतावास पुगेर बाढीपहिरोमा परी ज्यान गुमाएकाको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।

उनीलाई नेपालका लागि पाकिस्तानस्थित राजदूत रीता धितालले राजदूतावासमा स्वागत गरेकी थिइन्। प्रधानमन्त्रीसँग सूचना मन्त्री अत्ताउल्लाह तरार, विशेष सहायक प्रधानमन्त्री सैयद तारिक फतिमी, विदेश सचिव अम्ना बलोचलगायत वरिष्ठ अधिकारी सहभागी थिए।

शोक पुस्तिकामा प्रधानमन्त्री शरीफले नेपाल सरकार, नेपाली जनता तथा विपद्मा आफ्ना आफन्त गुमाएका परिवारप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शरीफले यसअघि नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत व्यक्त गरेको ऐक्यबद्धताको भावना पुनः दोहोर्‍याउँदै दुःखको यस घडीमा पाकिस्तान नेपालसँग पूर्ण रूपमा साथमा रहेको बताएका छन्।

उनले नेपालमा जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन पाकिस्तानले यसै साता आपत्कालीन राहत सामग्री पठाउने जानकारी पनि राजदूत धिताललाई गराएका छन्।

प्रधानमन्त्री शरीफले विपद्को सामना गरिरहेका नेपाली जनतालाई पाकिस्तानको निरन्तर सहयोग रहने विश्वास दिलाउँदै नेपाली जनता आफ्नो दृढता र साहसका साथ यस विपत्तिबाट अझ बलियो भएर बाहिर आउने विश्वास व्यक्त गरे।

उनले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा भ्रातृत्वपूर्ण सम्बन्धको स्मरण गर्दै आगामी दिनमा पनि दुवै देशले एकअर्कालाई आवश्यक परेको समयमा सहयोग र साथ दिँदै जाने विश्वास व्यक्त गरे।

राजदूत धितालले प्रधानमन्त्री शरीफको सहानुभूति, सहयोग र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै पाकिस्तानको यो सद्भावपूर्ण पहल नेपाली जनताले लामो समयसम्म स्मरण गर्ने बताइन्।

सो अवसरमा राजदूत धितालले नेपाल–पाकिस्तानबीच भइरहेको द्विपक्षीय सहकार्य तथा सम्बन्धका विभिन्न पक्षबारे प्रधानमन्त्री शरीफलाई जानकारी गराएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय