रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्य सरकारले तीव्र बनाएको छ।

क्षतिग्रस्तमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ। धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया पुलको मर्मत भइरहेको छ। यस्तै, नुवाकोट–धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा–धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत जारी छ।

यी पुलहरूलाई असोज २० गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। थप ८ वटा क्षतिग्रस्त पुलको मर्मतका लागि पनि प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ।
मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गरी पहिलो चरणको सामग्री कार्यस्थलमा पुर्याइसकिएको छ भने दोस्रो चरणअन्तर्गत स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ।

यसैगरी, मर्मत गर्न नसकिने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनःनिर्माण गर्न भदौ १७ गते नै बोलपत्र आह्वान भइसकेको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको सरकारले जनाएको छ।




