काठमाडौं, आज ‘अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस’ विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ। यो दिवस हरेक वर्ष सेप्टेम्बर २८ तारिखका दिन मनाइन्छ। नेपालमा यो दिवस आज अर्थात् असोज १२ गते परेको छ। सन् २०२६ मा यस दिवसको नारा ‘डिजिटल युगमा सूचनाको सत्यता र अखण्डता कायम राख्दै सूचनामा पहुँचको भूमिका’ रहेको छ। सन् २०२६ को विश्वव्यापी सम्मेलन युनेस्को र सियरा लियोन सरकारको सहकार्यमा सियरा लियोनमा आयोजना गरिँदै छ।
सन् २०१५ मा युनेस्कोको साधारण सभाले सेप्टेम्बर २८ लाई यस दिवसका रूपमा घोषणा गरेको थियो। पछि सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले पनि यसलाई आधिकारिक अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्यता दिएको हो।
सुशासन र पारदर्शिताअन्तर्गत सार्वजनिक निकायमा रहेका सूचनामा आम नागरिकको पहुँच सुनिश्चित गरी पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्नु, डिजिटल युगमा फैलिने भ्रामक सूचनाको सामना गर्न सही र आधिकारिक सूचनामा सहज पहुँच स्थापित गर्नु तथा सूचनाको हकलाई मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अभिन्न अङ्गका रूपमा सुदृढ गर्नु यस दिवसका मुख्य उद्देश्य हुन्।


