चितवनमा वर्षे धानमा विभिन्न रोग तथा किराको समस्या देखिन थालेपछि किसान चिन्तित बनेका छन्। धानको जरा र पात सुक्दै जान थालेपछि किसानहरू समस्या पहिचान र उपचारका लागि प्राविधिकको सम्पर्कमा पुग्न थालेका छन्।
कृषि विकास कार्यालय चितवनका अनुसार धानमा खाद्यतत्वको कमी, गबारो, पात बेरुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डडुवा रोगजस्ता समस्या देखिएका छन्। सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ भने हर्दिनाथ–६ मा पनि केही क्षेत्रमा समस्या देखिन थालेको छ।
समस्या बालासम्म पुगेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले पातमै लक्षण देखिएपछि व्यवस्थापन गर्न किसानलाई सुझाव दिइएको छ। कार्यालयले रोग पहिचान तथा उपचारका लागि विभिन्न क्षेत्रमा बाली उपचार शिविरसमेत सञ्चालन गरिरहेको छ।
यस वर्ष चितवनमा २८ हजार ३ सयभन्दा बढी हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ।


