बुटवल, जगदम्बा मोटर्स प्रालिले बुटवलमा आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्समा १६० सीसी वर्गतर्फ तीन जना राइडर फाइनलका लागि छनोट भएका छन्।
तिलोत्तमा–५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टर, कफी कम्पनी, मणिग्राममा शनिबार सम्पन्न क्षेत्रीय क्वालिफायर्समा धीरज बि.क. प्रथम, अभिषेक पन्थी दोस्रो र अरिक श्रेष्ठ तेस्रो भएका हुन्। प्रतियोगितामा धीरजले ३४.०७ सेकेन्ड, अभिषेकले ३४.६२ सेकेन्ड र अरिकले ३४.८७ सेकेन्डमा रेस पूरा गरेका थिए। उनीहरूले अब ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्।
टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवल क्षेत्रका लागि आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा क्वालिफायर्स आयोजना गरेको हो।आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन ७६ जना राइडरले नाम दर्ता गरेपछि थप दर्ता रोकिएको थियो। बुटवल क्षेत्रमा मोटरस्पोर्ट्सप्रति बढ्दो आकर्षण र स्थानीयस्तरमा रहेका नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा पूर्व ARE GP नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङकी चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सहभागी राइडरलाई प्रशिक्षण दिएका थिए।प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी दिइएको थियो। त्यसपछि सहभागी राइडरले प्रशिक्षकको निर्देशनमा ट्र्याकमा विभिन्न अभ्यास गरेका थिए।
प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस आयोजना गरिएको थियो। उक्त रेसबाट शीर्ष तीन स्थान हासिल गर्ने राइडरलाई ARE GP ग्रान्ड फिनालेका लागि छनोट गरिएको आयोजकले जनाएको छ।बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा कार्यक्रमप्रति प्राप्त प्रतिक्रिया उत्साहजनक रहेको बताए। ७६ जना राइडर सहभागी हुनु र दर्ता रोक्नुपर्ने अवस्थाले बुटवल क्षेत्रमा मोटरस्पोर्ट्सप्रतिको रुचि बढिरहेको देखाएको उनको भनाइ थियो।
ग्रान्ड फिनालेमा काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका उत्कृष्ट राइडरबीच प्रतिस्पर्धा हुनेछ।आयोजकका अनुसार ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। उक्त प्रतियोगितामा ५० भन्दा बढी देशका राइडर सहभागी हुने बताइएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली राइडरको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने जनाइएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने राइडरले थप अन्तर्राष्ट्रिय रेसिङमा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ।
जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकास गर्ने उद्देश्यले ARE कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत अपाचे ट्र्याक एक्सपेरियन्स, अपाचे रेसिङ क्वालिफायर्स र ARE GP ग्रान्ड फिनाले गरी तीन चरणमा गतिविधि सञ्चालन हुँदै आएका छन्।
अपाचे ट्र्याक एक्सपेरियन्सअन्तर्गत सतुङ्गलस्थित भेहिकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा खुला प्रशिक्षण सत्र सञ्चालन गरिने जनाइएको छ। त्यस्तै काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा क्षेत्रीय रेसिङ क्वालिफायर्स आयोजना गर्ने कार्यक्रम रहेको छ।
नेपालमा मोटरस्पोर्ट्सलाई व्यवस्थित र सुरक्षित रूपमा विकास गर्दै नयाँ राइडरलाई प्रशिक्षणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्ने अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जगदम्बा मोटर्सले जनाएको छ।
बुटवल क्वालिफायर्सका सहभागी सबै राइडरलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट तीन राइडरलाई मञ्चमा सम्मान गरिएको थियो।


