काठमाडौ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा सक्रियता तथा सामाजिक सेवामा आफ्नो अनुभवलाई आधार बनाउँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

चित्रकार २०४२ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले नेपाल विद्यार्थी संघ पाटन क्याम्पसको संयोजक, जिल्ला सचिव तथा सभापति, नेविसंघ केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्षलगायतका जिम्मेवारी सम्हालि सक्नु भएको छ । त्यसैगरी, उहाँ २०५० सालदेखि नेपाली कांग्रेसको जिल्ला सदस्य, महासमिति सदस्यका रूपमा सक्रिय रहनुभएको थियो । उहाँ २०६४ सालमा संविधानसभा सदस्य बन्नुभएको थियो भने हाल बागमती प्रदेशसभाका सदस्यसमेत हुनुहुन्छ ।

उहाँले बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । बागमती प्रदेशसभाको आधिकारिक विवरणमा चित्रकार ललितपुर–२ (ख) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका रूपमा रहनु भएको थियो । राजनीतिसँगै चित्रकार अधिवक्ता, पत्रकारिता तथा शिक्षा क्षेत्रमा समेत संलग्न रहँदै आउनुभएको छ । उहाँ सामाजिक सेवामा पनि सक्रिय रहदै खाउनु भएको छ ।
चित्रकारका समर्थकहरूले उहाँको लामो राजनीतिक अनुभव, संगठनात्मक योगदान, संघर्ष तथा
सामाजिक सेवाको पृष्ठभूमिलाई आधार बनाएर महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनका लागि आग्रह गरेका छन् । महाधिवेशनमा जनजाति–आदिवासी समूहको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएका चित्रकारको मतपत्र क्रमसंख्या २६ रहेको उहाँको सचिवालयले जनाएको छ । चित्रकारले महाधिवेशनका प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।


