Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

रसुवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न मंगलबार रसुवाको स्याफ्रुबेसी पुगेका छन्।

बाढीपछि स्याफ्रुबेसी पुग्ने पहिलो शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डले त्यहाँको प्राकृतिक सुन्दरताबारे आफूले पहिले नै सुनेको बताए। दिवंगत नेता पोष्टबहादुर बोगटीले पनि स्याफ्रुबेसी जानुपर्छ भनिरहने गरेको स्मरण गर्दै उनले आफू आउँछु भन्दाभन्दै बाढीले ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरे।

निरीक्षणका क्रममा प्रचण्डले स्याफ्रुबेसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गरे। उनले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गरे।

विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताए। उनले स्याफ्रुबेसीबाट नेपालको जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे।

प्रचण्ड धुन्चेमा जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा समेत सहभागी भएका छन् । उनले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनुपर्ने बताए।

काठमाडौं फर्किएपछि संसद् र सरकारको ध्यानाकर्षण गराउँदै स्याफ्रुबेसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उनले बताए। खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय सरकार र जनप्रतिनिधिलाई उनले धन्यवाद दिए।

प्रचण्डले नदी किनारबाट कति दूरीसम्म घर निर्माण गर्न पाइने भन्ने स्पष्ट मापदण्ड तत्काल बनाउन पनि सरकारलाई आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय