Monday 23 November 2026 / सोमबार, ८ मंसिर २०८३

काठमाडौँ, ७ मङ्सिर। प्रधानमन्त्री बालेनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई हिमालयजस्तै अटल र महासागरजस्तै विशाल रहेको बताएका छन्। भारतको राजकीय भ्रमणका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले दुई देशबीचको आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नै द्विपक्षीय सम्बन्धका प्रमुख आधारशिला भएको उल्लेख गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत तथा भारतीय जनताप्रति लिएर आफू भारत आएको बताए। भ्रमणका लागि निमन्त्रणा र न्यानो आतिथ्य प्रदान गरेकोमा उनले भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे।

उनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले भरपर्दो छिमेकीका रूपमा नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्री बालेनका अनुसार हालै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामबारे स्पष्ट र सारगर्भित छलफल भएको छ। वार्ताका क्रममा प्रमुख पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यासका साथै विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारीसमेत भएका छन्।

दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानको खेतबारीमा समृद्धि, युवाको हातमा रोजगारी तथा अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना र उद्यमीका लागि लगानी तथा व्यवसाय विस्तारका रूपमा देखिनुपर्नेमा उनले जोड दिए।

जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न नेपाल र भारतबीच सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै उनले हिमालयबाट बग्ने नदीहरूले दुवै देशको साझा भविष्य र नियतिलाई जोडेको बताए। हिमालले यस क्षेत्रका करोडौँ मानिसलाई स्वच्छ पानीको स्रोत उपलब्ध गराउँदै आएको उनको भनाइ थियो।

नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप जीवन्त बनाउन रेल कनेक्टिभिटीको उद्घाटन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले पूर्वजहरूले निर्माण गरेको सम्बन्धको जगमा आपसी विश्वास, सहकार्य र साझा समृद्धिको नयाँ आधार तयार गर्नुपर्ने बताए।

उनले भारतीय लगानीकर्तालाई नेपालको आर्थिक विकासमा साझेदार बन्न आह्वानसमेत गरे। नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आइआइटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण निर्माण गर्नुपर्ने र दुवै देशका सहरबीच सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री बालेनले नेपाल र भारतबीचको साझा समृद्धिका लागि संयुक्त दृष्टिकोण दस्ताबेज सार्वजनिक गरिने र संयुक्त प्रेस विज्ञप्तिमार्फत द्विपक्षीय उपलब्धि उजागर गरिने जानकारी दिए।

सम्बोधनका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। साथै भारतका नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकीको पावन भूमि, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न पनि आमन्त्रण गरे।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री बालेनले नेपाल–भारत मित्रता हिमालयजस्तै अग्लो विश्वास, नदीजस्तै निरन्तर बगिरहने सहकार्य र साझा आकाशमुनि दुवै राष्ट्रको समृद्धि फस्टाउने सम्बन्धका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय