Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ, नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहनुभएको छ । सोका लागि उहाँ गत साता श्रीलंकाबाट काठमाडौँ आउनुुभएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडी छनोट गरेको थियो । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएको क्यानले जनाएको छ ।

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा हुनुहुन्छ ।
बन्द प्रशिक्षणअघि सबै खेलाडीको कोरोना परीक्षण गरिएकामा नेगेटिभ आएको क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय