नेपाल सम्वत अनुसार गएको साउन २० गते अर्थात् ने.सं. ११४१ दिल्लागा ११ तिथि जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन हो । श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ सो दिन ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ । अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा रहेको छ । सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ । प्रतिष्ठानको अनुसार सो कृति चित्रमय हुने छ ।
यस अघि नेपालभाषामा उनको जीवनी पुस्तक दुई वर्षअघि (ने. सं. ११३९) नै प्रकाशित भएको थियो । पुस्तकका डिजाइनर थिए, रविन साय्मि । अमेरिका र बेलायतमा रहेका नेवार संगठनहरूको सहयोगमा प्रकाशित सो जीवनी पुस्तक बन्दाबन्दीको कारण विमोचन कार्यक्रम स्थगित रहन गएको थियो । परिस्थिति अनुकुल भएमा दुवै भाषाका पुस्तक एउटै समारोह गरी विमोचन गर्ने योजना रहेको छ ।


