Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

चितवन- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताउनुभयो ।

प्रतिनिधिसभा भङ्ग भएका विषयमा पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तितर्फ केन्द्रित हुँदै पूर्वसांसद खतिवडाले प्रश्न गर्नुभयो, “सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?” यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा युवा नेता खतिवडाले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै भन्नुभयो, “एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले कांग्रेस सरकारमा जानु हुँदैन ।” कांग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर । अहिलेको अवस्थामा होइन ।”
प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद किनबेच शुरु हुने विचार गर्दै उहाँले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरि सांसद किनबेच शुरु हुन्छ । कांग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन ।” कांग्रेसले वडावडामा जानू भनेर कार्यकर्तालाई खटाउनु नै निर्वाचनको तयारी भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय