काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच झन्डै महिना देखि चलेको विवाद अझै मिल्न सकेको छैन ।
नेम्बाङ र अलमुताइरीबीच साउन १९ गतेको भेटपछि विवाद अन्त्य गर्दै मिलेर जाने सहमति जुटेको भनिए पनि त्यसै दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद छानविन समिति गठन गरेपछि प्रक्रिया थप लम्बिएको थियो ।
राखेप सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको ७ सदस्यीय समितिले नेम्बाङ, अलमुताइरीसहित १४ जनाको बयान लिएर छानविन प्रक्रिया पूरा गरिसकेको छ । तर, राखेप सदस्य सचिवलाई प्रतिवेदन बुझाउनु अघि नेम्बाङ र अलमुताइरीबीचको विवाद समाधानका लागि छानविन समितिले विहीबार पहल गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित नेम्बाङ र अन्य एन्फा पदाधिकारीबीच विहीबार भेट गराउँदै सहमतिको लागि गरिएको प्रयास विफल भएको सहभागी एक पदाधिकारीले बताए ।
छलफलमा राखेप सदस्य सचिव रमेश सिलवाल, संयोजक लाखे, समितिका अन्य तीन सदस्य, एन्फा अध्यक्ष शेर्पा, महासचिव तुलाधार, नेम्बाङ, अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मदुसुधन उपाध्याय सहभागी थिए ।


