काठमाडौं, शुक्रबारबाट शुरु भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् ।
यसअघि एमालेमा चार उपाध्यक्ष रहेको एमालेमा उपाध्यक्ष कति बनाउने भनेर व्यापक छलफल भएको थियो । शुरुमा अध्यक्ष केपी शर्मा ओलीले तीन जना उपाध्यक्ष राख्ने प्रस्ताव राखेका थिए । केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा तीन जना उपाध्यक्ष र सात सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।

त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा पाँच जना सचिव छन् । केन्द्रीय पदाधिकारी समेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ ।
त्यस्तै एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।
ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन

नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।
त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि प्रतिनिधिले पेस गर्ने सुझाव संकलनका लागि प्रतिवेदन सुझाव संकलन समिति, विधान महाधिवेशनका सूचना प्रचार प्रसारका लागि प्रचार व्यवस्थापन समिति पनि गठन गरिएको छ । महाधिवेशनमा प्रस्तुत हुने बहस नोट गर्नका लागि पनि समिति बनाइएको छ ।



