तामाङ समुदायको मौलिक कला संस्कृति, भाषा भेषभुषा, परंपरा, गीत संगीत लगायतको जातिय पहिचान र साँस्कृतिक परिवेशको सम्बद्र्धन र प्रवद्र्धनलाई देशको भूगोल भन्दा बाहिर लैजाने र संसारभरि रहेका तामाङ समुदायका प्रतिभावान् तामाङ युवतीहरुको समग्र व्यक्तित्व विकासलाई प्रभावकारी बनाउने हेतुले आयोजना हुँदै गरेको मिस तामाङ वर्ल्ड २०२१ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । साधना कला केन्द«को आयोजनामा आउँदो मंसीर ७ गते होटल सोल्टी काठमान्डूमा सौन्दर्य प्रतियोगिताहरुको नियमित ढाँचा भन्दा परिमार्जित स्वरुपमा संचालन गर्न लागिएको सो प्रतियोगितामा १९ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको छ ।
संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत विविध विषयको प्रशिक्षणमा रहेका सहभागिहरुले ध्यान बहादुर मोक्तानबाट तामाङ भाषा तथा संस्कृति सम्बन्धी आफूलाई परिष्कृत गरेका छन् भने धावा वाङ्गेल मोक्तानबाट डम्फु गीतको तयारी गरेका छन् । साथै अनिश के पुडासैनीबाट तामाङ सेलो नृत्यमा प्रशिक्षित भएका छन् । दुई महिना भन्दा लामो समयको प्रशिक्षण अवधिमा सहभागिहरुले विभिन्न गतिविधि र महत्वपूर्ण विषयको प्रशिक्षणमा अभ्यस्त भएका थिए ।
यस अवधि सहभागिहरुले स्याल्पा गुम्बा, माइति नेपालको जानकारी मूलक भ्रमण संगै होटल सोल्टीमा डाइनिङ एटिकेट्स सम्बन्धी प्रशिक्षण प्राप्त गरेका थिए । इनहाउस ग्रुमिङ सेसनमा सहभागिहरुले संस्कृति, अर्थिक, पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य, समाज कल्याण जस्ता विषयमा तालिम प्राप्त गरेका थिए । जसलाई सम्बन्धीत क्षेत्रका अनुभवी एवं विज्ञ व्यक्तित्वहरुले तालिम प्रदान गरेका थिए । यसैगरी इन हाउस ग्रुमिङ अन्तर्गत क्याप्टेन विजय लामाको मोटिभेसनल कक्षा तथा इन्स्पेक्टर दामोदर भट्टको ट्राफिक सचेतना कक्षाहरु पनि महत्वपूर्ण रह्यो ।
यसैवीच सहभागिहरुले सुकुटे विच रिसोर्टमा फोटो तथा भिडियो सुट गरे । जसमा सुमन खड्का स्टाइलिङ, उकिशान चन्द« गुरुङको मेकअप तथा किरण विष्टको फोटोसेसन र डिप्सन डंगोलको भिडियो सुट रहेको थियो । सहभागिहरुको फोटोसुट तथा भिडियो सुट, तामाङ भेषभुषा र साँस्कृतिक परिवेशमा सहभागिहरुको परिचयात्मक चरण तथा ट्यालेन्ट राउन्डलाई हिमालय टेलिभिजन एचडीमा श्रृङ्खलाबद्ध रुपमा विशेष एपिसोडका रुपमा प्रशारण पनि गरिएको थियो ।


