२१ वर्षिया भारतीय मोडल हरनाज संधुले मिस युनिभर्स २०२१ को ताज पहिरिन सफल भएकी छिन् । १२ डिसेम्बरमा इजराइलको इलाटमा सम्पन्न ७० औं संस्करणको मिस युनिभर्स प्रतियोगितामा आफ्ना ७९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस युनिभर्स २०२१ को ताज आफ्नो शीरमा सजाउन सफल भएकी हु्न् । प्रतियोगितामा पाराग्वेकी नाडिया फरेरा फस्ट रनर अप तथा दक्षिण अफ्रिकाकी लालेला एमस्वान सेकेन्ड रनर अप रुपमा छनौट भएका थिए । प्रतियोगिताको विशेष अवार्डमा नाइजेरियाकी मारिस्टेला ओकपालाले वेष्ट नेसनल कस्ट्युम, द बहामासकी छान्टेल ओ ब्राइनले स्पिरिट अफ कार्निभल तथा चीलीकी एन्टोनिया फिगुएराले सोसल इम्प्याक्ट अवार्ड जित्न सफल भएका थिए । 
२१ वर्षिया हरनाज मिस युनिभर्सको ताज पहिरिने तेस्रो भारतीय सुन्दरी हुन् । यसअघि सन् १९९४ मा सुस्मिता सेना तथा सन् २००० मा लारा दक्ताले मिस युनिभर्सको ताज पहिरिन सफल भएका थिए । मिस युनिभर्स २०२१ बनेकी हरनाज यस अघि टाइम्स फ्रेश फेस चण्डीगढ २०१७, मिस म्याक्स इमर्जिङ स्टार इन्डिया २०१८, फेमिना मिस इन्डिया पन्जाब २०१९ को रुपमा चयन भएकी थिइन् । उनी गत अक्टोबर महिनामा मिस युनिभर्स २०२१ का रुपमा छनौट भएकी थिइन् । पन्जाबी चलचित्रकी नायिका समेत रहेकी उनले यारा दियाँ पु बरान र बाई जि कुटाङगे नामक पन्जाबी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।


