Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, लामो समयको प्रतिक्षापछि चलचित्र ‘हेल्लो जिन्दगी’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र प्रदर्शनमा मिति घोषणा गरेको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउने भएको हो । सत्य घटनामा आधारित सामाजिक कथानक चलचित्रमा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।

सार्वजनिक तीन फस्र्टलुक पोस्टरमध्ये एउटामा चलचित्रका प्रमुख अभिनेता बिक्रम डि जोशी ‘एंग्री म्यान’का रुपमा देखिएका छन् । अर्काे एउटा पोस्टरमा नायक जोशी, नायिका दीपीकासँग ‘डिफेन्डिङ मुड’मा देखिएका छन् भने अर्काे एक पोस्टरमा नायक जोशीका साथमा नायिकाहरु प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई र बिक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ ।

यूके र नेपालमा छायांकन गरिएको चलचित्रको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो । यूकेमा रहेतापनि सधै नेपाली चलचित्रको विकास, बिस्तार र गुणस्तरीयता बृद्धिका लागि कटिबद्ध अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘हेल्लो जिन्दगी’ले नेपाली चलचित्रको श्रीबृद्धिमा नौलो आयाम थप्ने विश्वास ब्यक्त गरेका छन् । महंगो लगानीमा निर्माण गरिएको चलचित्र गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखिएको जानकारी उनले दिएका छन् ।

महारानी इन्टरटेन्मेन्ट यूके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बीरञ्जना इन्टरटेन्मेन्टले हेल्लो जिन्दगीलाई प्रस्तुत गरेको हो । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रको सम्पादन मित्र डि.गुरुङले गरेका हुन् । कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्रको विश्वब्यापी बजारलाई आफ्नो चलचित्रले नयाँ उचाईमा पुर्याउने विश्वास निर्देशक बोहराको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय