काठमाडौं, संगीतकार मिलन मोक्तान नेपाल सांगीतिक संघमा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । राजधानी शहरमा सम्पन्न भएको सांगीतिक संघको २२औँ साधारणसभाबाट मिलनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यस अघि पनि नेपाल सांगीतिक संघको दुई कार्यकाल मिलनले अध्यक्षका रुपमा सम्हालिसकेका छन् । संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्कबहादुर बुढा र संगीतकार आशिष अविरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा संगीत संयोजक विनोदकुमार भुजेल र कोषाध्यक्षमा गायक विमल श्रेष्ठ चयन भएका छन् । संघका सदस्यहरुमा नृत्यांगना आशा गौतम, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, गायिका सूर्यकुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश रञ्जितकार चयन भएका छन् । २०५६ सालमा लोकगायक कुमार बस्नेतको नेतृत्वमा स्थापना भएको यो संघमा रुबी जोशी, मिरा राणा, तारा थापा, कोमल वलीलगायतले नेतृत्व गरिसकेका छन् ।


