काठमाडौं, जनताको पक्षमा प्रखर आवाज उठाउने परिचय बनाएका नेता हुन् गगनकुमार थापा । तर नेपाली कांग्रेसको महामन्त्री भएपछि सर्वोच्च अदालतको विवाददेखि सत्ता गठबन्धन लगायत थुप्रै विषयमा थापाको धारणा खोजी भइरहेको छ । तर उनी सार्वजनिक मञ्चहरुमा विगतमा झैं प्रखर नभएको गुनासो छ ।
जुन जिम्मेवारीमा छु, त्यो जिम्मेवारीबाट कार्यसम्पादन गर्दा केही कुरामा ध्यान दिनैपर्ने र केही कुरामा सचेत रहनैपर्ने अवस्था छ । जस्तो– हिजो जनसरोकारका कुनै विषयलाई सार्वजनिक मञ्चबाट होस् अथवा राजनीतिक मञ्चबाट फ्याट्टै उठाइदिए पुग्थ्यो ।
महामन्त्री थापा भने आफ्नो काम गर्ने तरिका बदलिएको, तर पोजिसन नफेरिएको बताउँछन् । ‘जनताको सवाल उठाउने कुरामा सम्झौता हुँदैन’ उनी भन्छन्, ‘म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ? मेरो ठाउँमा जो भए पनि भयो नि !’



