Wednesday 5 August 2026 / बिहीबार, २१ श्रावण २०८३

पोखरा, सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड -१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

सन् २०२२ जुलाई नजिकिँदै गर्दा पोखरालाई विश्वसँग जोड्न महत्वपूणर् मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल जुलाईसम्ममा सम्पन्न हुने तर ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विमानस्थलको ९१ प्रतिशत काम सकिएको छ, अब बाँकी पनि समयमै सकिनेछ तर महानगरको जिम्मेवारीभित्र रहेको ल्याण्डफिल साइट समयमै स्थानान्तरण गरिएन भने उडानमा समस्या आउने छ ।” उहाँले महानगरलाई यस विषयमा पटकपटक लिखित र मौखिक रुपमा जानकारी गराइरहे पनि सोअनुरुप काम अघि बढ्न ढिलासुस्ती भइरहेको बताउनुभयो । “मुख्य समस्याका रूपमा रहेको ल्याण्डफिल साइडका लागि उचित स्थानको खोजी भइरहेको र छिट्टै यसको समाधान हुन्छ भन्ने आश्वासन मात्र महानगरबाट पाएका छौँ”, मुनाकर्मीले भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नं १४ बाच्छेबडुवामा रहेको ल्याण्डफिल साइट हाल निर्माणाधीन विमानस्थलबाट करिब दुई किमीमा छ । उडानसम्बन्धी अन्तरराष्ट्रिय मान्यतानुसार विमानस्थलबाट १० किमीभित्र ल्याण्डफिल साइट हुनुहुँदैन । ल्याण्डफिल साइट नजिक हुँदा चिल, गिद्धलगायत चराचुरुङ्गीबाट हवाई उडान जोखिममा पर्न सक्ने देखिन्छ । लामो समयदेखि एकै स्थानमा आहारको खोजी र आसपासमा बासस्थान बनाइरहेका चरा त्यही ठाउँमा आहाराका लागि आइरहने हुँदा कम्तीमा ६ महिना अगाडिदेखि स्थानान्तरण गर्नुपर्ने मुनाकर्मी बताउनुहुन्छ । उहाँले डम्पिङ साइटको स्थान टुङ्गो लगाएर मात्र व्यवस्थापन गर्न सकिए चराबाट उडानमा आउने समस्या समाधानका लागि बाटो खुल्ने बताउनुभयो । पुरानो ठाउँमा बाक्लो माटाले पुरेर र बर्ड स्केरिङ डिभाइस राखेर त्यस क्षेत्रमा देखिने अन्य चराको समस्यालाई पनि व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ ।

उहाँका अनुसार अब विमानस्थलमा ‘फिनिसिङ’का केही काम बाँकी छन् । वर्षायाम शुरुअघि नै ‘अपडेट स्ट्रक्चर’लगायत कार्य सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । यसबाहेक निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ, त्यससँगै विमानस्थल सञ्चालनपूर्व नै पानीको निकासमा देखिएको समस्यालाई पनि समाधान गर्नुपर्ने हुन्छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयारी कार्यदलका संयोजक विक्रम गौतम विमानस्थल क्षेत्रमा ल्याण्डफिल साइट हुँदा त्यस क्षेत्रमा आउने चराका कारणले उडान जोखिम बढाउने भएकाले छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । “अहिलेको प्रमुख समस्याका रूपमा विमानस्थल क्षेत्रमा पर्ने डम्पिङ साइट हो, अहिले त्यस क्षेत्रमा चराहरूको जुन गतिविधि छ, त्यसले उडानलाई चुनौती थप्छ, यस विषयमा महानगरले विशेष चासो दिएर सञ्चालनपूर्व नै स्थानान्तरण गर्नुपर्ने हुन्छ तर अहिलेसम्म पनि जग्गाको टुङ्गो लागेर काम अघि बढेको छैन”, गौतमले भन्नुभयो । उहाँका अनुसार महानगरको ढिलासुस्तीले उडान सञ्चालनमा चुनौती थप्ने छ । चरा विज्ञसँगको छलफलअनुसार तत्काल यसको व्यवस्थापन गर्न सके ४० प्रतिशत चराको गतिविधि त्यहाँबाट रोक्न सकिनेछ । त्यसबाहेक पनि विमानस्थल आसापास खोलाका किनार, फोहोर, नभचर बासस्थानका कारण पनि त्यस क्षेत्रमा देखिने चरालाई पनि रोक्नुपर्ने अर्को चुनौती छ । पोखरामा स्थानीयसँगै आगन्तुक चराको पनि चहलपहल बढी भएकाले गार्डिङ, साइरन, शिकारी र अन्य उपकरणको प्रयोग गरेर गतिविधि न्यूनीकरण गर्न सकिने गौतमले बताउनुभयो । चरा उडान शतप्रतिशत रोक्न सम्भव नहुने उहाँको भनाइ छ । “खुला आकाशमा चरा नभएको जहाज उडान परिकल्पना गर्न सकिँदैन, सकेसम्म चरालाई एभोइड गरेर उडान गर्नुपर्छ, बेलाबेलामा चरा जहाजमा ठोकिएको, जहाजले चरा हानेको समाचारहरू आइरहेका छन्, खुला आकाशमा जहाज र चरा उडान सँगसँगै हुने अवस्था आएमा हुन्छ ।” उहाँले ‘एक्सेप्टेबल लेभल अफ सेफ्टी’लाई ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँका अनुसार पोखरा चराका हिसाबले अत्यन्त ‘भल्नरेबल’ ठाउँ भएकाले वर्षमा केही समय एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । विशेष गरी सेप्टेम्बरमा धेरै चराले बच्चा पाउने र कोरल्ने गतिविधि हुने भएकाले त्यसलाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय