काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर गल्ती गरेको बताएका छन् ।
आफू र माधव नेपाललाई धेकेलेरै लखेट्ने काम गरेको भन्दै प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको स्पष्ट पारे । उनले भने, ‘ओलीजी, तपाईले ब्लण्डर गर्नु भो, अब सिद्धिनु भो ।’
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले पूर्वएमालेलाई समेत विश्वासमा लिन नसेको बताए । सचिवालयमा रहेका बहुमत पूर्वएमालेले ओलीलाई छाडेको उनको तर्क थियो । उनले भने, ‘माधवजीलाई हेपेर, माधवजीको पक्षमा रहेका इमान्दार क्रान्तिकारी कम्युनिष्टलाई पेलेर प्रचण्डलाई पनि उपयोग गर्ने सोच्नु भो, त्यो गलत थियो ।’
ओलीका गल्तीप्रति औंल्याउँदै उनले भने, ‘प्रचण्ड जस्तो मान्छेलाई घुमाएर जे भन्यो त्यही मान्ने बनाउँछु भन्ने ठान्नु भयो, त्यो ब्लण्डर भो, तपाई सिद्दिनु भो ।’
ओलीलाई भित्तामै पुरइदिने चेतावनी दिँदै कुनै बेला युद्धको कमाण्डर समेत भएको उनले स्मरण गराए ।
प्रचण्डले ओलीलाई भने, ‘तपाई संविधानवाद, लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता सम्पन्न जनतालाई तरवार उठाएर लडाई हानुभयो, जनताले जित्यो, तपाई कलंकको अवतारको रुपमा रहनुभयो ।’
अब प्रधानमन्त्री ओलीको हातमा केही नरहेको प्रचण्डको भनाइ थियो । उनले भने, अब केपीको हातमा केही छैन, जुन दिन संसद भंग गर्ने सिफारिस गर्नुभयो, केपीको हात रित्तियो ।’


