Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ, साउथवेस्टन साहित्य समाज, वसुन्धरा काठमाडौँद्वारा आयोजित पिपल चौतारी गजल साँझ २०७८ कार्यक्रम साउथवेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा गजल गायन र वाचन गरी करिब सय जनाको उपस्थितिमा भव्य र सभ्य रूपमा सम्पन्न भयो । गजलकार रामबहादुर पहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा छब्बिस जना गजलकारहरूले गजल वाचन गरेका थिए ।

गजल अरबी साहित्यमा सिर्जना भई उर्दू, फारसी, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको कविता उपविधाअन्तर्गतको एक प्रकार हो । नेपाली गजल भन्ने वित्तिकै गजलकार मोतीराम भट्ट र उनको मोतीमण्डलीलाई स्मरण गर्नुपर्ने हुन्छ । माया र प्रेम भाव व्यक्त हुने, शृङ्गारिता प्रधान, लयवद्ध, अनुप्रासयुक्त, गायन र वाचन दुवै गर्न सकिने पद्यमय रचना नै गजल हो । काफिया, रदिफ, सेर, मिसरा, मतला, मकता, तखल्लुस यसका प्राविधिक पक्ष हुन् । गजल निकै पुरानो, लोकप्रिय र चर्चित रहेको छ । साउथवेस्टन साहित्य समाजद्वारा आयोजित पिपल चौतारी गजल साँझका वक्ताले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि गजलकार रामबहादुर पहारीले गजलले नेपाली साहित्यसौन्दर्यमा सुनमाथि सुगन्ध थपेको, यो नेपाली जन जनका मन मनमा झिजेर रहेको तथा जनस्तरमा लोकप्रियसमेत रहेको विचार व्यक्त गर्नुभयो ।

 

अतिथि साउथवेस्टन कलेजका क्याम्पस प्रमुख डा। राजेन्द्र केसीले शुभकामना मन्तव्य राख्दै साउथवेस्टन कलेज परिसरमा रहेको करिब डेढ सय वर्ष पुरानो पिपलको चौतारीमा साँझको समयमा चकटीमा बसेर मायाप्रेम, अर्थ, राजनीति, व्यवस्थापन जस्ता यावत विषय समेटिएका हार्दिकता, कोमलता र सुन्दरताका भावमय गजल वाचन गर्दा डेढ सय वर्ष पुरानो मोतीराम भट्ट र उनको भजन मण्डलीको सम्झना आएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिद्धिनारायण आचार्य, सन्तोष अमागाई, वसन्त वली वसन्ती, नारायण काँइलो, अल्पज्ञानी, शशी शर्मा मजगैया, उदास कार्की, एचके लामिछाने, राजेन्द्र घिमिरे सागर, रेणुका भण्डारी, मुकुन्दराज कँडेल, विप्लव निसानी, दुर्गाकिरण तिवारी, डा। प्रदीप मैनाली, विदुर अधिकारी देवदूत, प्रमोद थापा, देवेन्द्र अर्याल आँसु, धुव्रप्रसाद तिमल्सिना, बलराम दाहाल, भैरवी भूगोल, त्रिभुवनचन्द्र वाग्ले, शुसान्त न्यौपाने, रवि प्रञ्जल, ललितजङ रावल र रामबहादुर पहारीले गजल गायन तथा वाचन गर्नुभएको थियो ।

 

साउथवेस्टन साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुस्तान्तरणको कुरा गर्दै अग्रज र अनुज गजलकार बिच निरन्तर संवाद र सहकार्य आवश्य भएकोले यस कार्यमा साउथवेस्टन साहित्य समाजले निकट भविष्यमै कविता, गजल आदि विविध खालका साहित्यिक गोष्ठी तथा सेमिनारहरू आयोजना गर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली समाजमा अरबी, उर्दू, फारसी, हिन्दीका गजल सुनिँदै आएको, ती निकै लोकप्रिय भएको तथा विस्तारै नेपाली गजलप्रति पनि आम श्रोता र पाठकको अभिरुचि बढ्दै गएकाले यस्ता कार्यक्रमहरू समय समयमा भइरहनुले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय