Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

राजधानी शहरको सोल्टीमोडस्थित होटल द सोल्टी काठमाडौंमा फेसन र संगीतको समायोजनमा सेलिब्रिटीज् फेसन शो २०२२ नामक फेसन कार्यक्रम सम्पन्न भएको छ । विभिन्न कार्यक्रम व्यवस्थापन तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको काराओके इन्टरटेन्मेन्टले आयोजना गरेको सो कार्यक्रम फेसन, गीत संगीत र नृत्य प्रस्तुतिको दर्शनीय संगम बनेको थियो ।

फेसन शो प्रस्तुति तर्फ चारवटा प्रस्तुति समेटिएको थियो । जस अन्तर्गत सावि फोर लेडिज वेयरका डिजाइनर सावि स्थापितद्वारा तयार पारिएका पहिरनलाई प्रदर्शन गरिएका थिए । जसमा हाकु पटासीका पहिरन, पार्टी वेयरका स्टाइलहरु तथा ढाका कपडामा तयार पारिएका आधुनिक शैलीका डिजाइनहरु ¥याम्पमा देख्न पाइएको थियो । पाटन गाबहाल स्थित मुड्स टेलर्स कार्यक्रमको अटाएर पार्टनरका रुपमा रहेको थियो ।
संचारकर्मी समेत रहेका फेसन कोरियोग्राफर रोजिन शाक्यको निर्देशन अनुसार पूर्व कुमारी एवं मिस नेसनल २०२२ समिता बज्राचार्य, मिस नेवाः ११४१ का मिस ट्यालेन्ट मनिका खड्गी, मिस नेवाः वल्र्डका वेष्ट अटाएर विजेता सुदिक्षा स्थापित, मिस टिन प्लानेट नेपाल स्मारिका बराल, मिस मंगोल नेपाल प्रदेश नं १ शान्ता योङहाङ लिम्बु तथा मोडल ईप्सा रंजीतकारले फेसन शो प्रस्तुतिलाई आकर्षक रुपमा गति दिएका थिए ।

इन्टरनेसनल रनवे मोडलको परिचय बनाएका दिपक घिमिरेको शो स्टार्टर रनवे वाकबाट फेसन शो अगाडि बढेको थियो भने रेक्स फेसन होमका सिईओ रेक्स रंजीतको शो स्टपर रनवे वाकबाट कार्यक्रम समापन भएको थियो ।

फेसन शोको माहौलमा नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही र उपाध्यक्ष तथा काराओके इन्टरटेन्मेन्टका अध्यक्ष खगेश रंजीतकार पनि रनवेमा उत्रेका थिए ।आयोजक संस्थाका प्रमुख सल्लाहकार तथा पूर्व एसएसपी दिपक रंजीतको सभापतित्व रहेको कार्यक्रममा प्रथम मिस नेपाल रुबी राणाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सांगीतिक वातावरण रमझम प्रदान गर्ने क्रममा गायिकत्रय बुनु राई मानन्धर, अर्पणा श्रेष्ठ र क्रिस्टिना श्रेष्ठले सुमधुर गीतहरु प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुतितर्फ भने अग्रिया सिंहको नेपाः डान्स एकेडेमीका कलाकारहरुको नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति देख्न पाइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय