काठमाडौँ,
पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनःरोकिएको छ ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ ।
पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत छ दिनदेखि सडकमै फोहर रोकिएको छ ।
अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो ।
उहाँका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।
“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ” राईले भन्नुभयो, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”
उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउदै आएको छ ।


