नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा हलिउड चलचित्रमा देखिने भएकी छिन् । डेडलाइनको रिपोर्ट अनुसार बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज संगै अन्जली हलिउडको एन्थोलजी फिचर ‘वुमन स्टोरिज’मा डेब्यु गर्न लागेकी हुन् । ‘वुमन स्टोरिज’मा ६ वटा लघु कथाहरु हुनेछन् जसलाई विश्वका ६ जना महिला निर्देशकहरुले निर्देशन गर्नेछन् भने चलचित्रमा सबैजना महिला कलाकारहरुको मात्र अभिनय रहने बताइएको छ । डेडलाइनको रिपोर्ट उल्लेख भए अनुरुप नेपाली ट्रान्सजेन्डर मोडल अन्जली र बलिउड डिभा ज्याकलीन फिल्म मेकर लीना यादवले निर्देशन गर्ने लघु कथा शेयरिङ राइडमा देखापर्ने छन् । चलचित्र ‘वुमन स्टोरिज’ मा कारा डेलेभिङने, इभा लङगोरिया, मार्गरिटा बाय, लियनर भरेला र अस्कार विजेता मार्सिया गे हार्डेनलाई देख्न पाइनेछ । चलचित्रको छायांकन इटाली, भारत र अमेरिकामा गरिने बताइएको छ । 
सन् २०१७ को ल्याक्मे इन्डिया फेसन वीको रनवेमा मोडलका रुपमा उत्रेसंगै सफलताको शिखर चुम्दै अगाडि बढेकी अन्जलीले यसबीचमा पहिलो संस्करणको ग्राजिया मिलेनियल अवार्ड २०१९ मा मोडल अफ इयरको अवार्ड,१० औं संस्करणको भोग ब्युटी अवार्डस्मा मोडल अफ द इयरको अवार्ड,विश्व विख्यात फेसन डिजाइनर क्याल्भिन क्लाइनको ‘My Statement,#MyCalvins#BalanceForBetter’ नामक क्षेत्रीय स्तरको अभियानमा फिचर, जिक्यु स्टाइल अवार्डस् २०१८ मा एजेन्ट अफ सोसल चेन्ज अवार्ड, कान्स फिल्म फेस्टिभल २०१८ को रेड कार्पेटमा पनि उपस्थिति रहेको थियो । 
भारतीय फेसन क्षेत्रका स्थापित फेसन फोटोग्राफर र फेसन डिजाइनरका लागि अन्जली अब परिचित नाम बनिसकेको अवस्था छ । भारतीय परिवेशका प्रतिष्ठित अवार्ड कार्यक्रमहरुको रेड कार्पेटको शोभा बनिसकेकी अन्जली भारतीय संस्करणको एली, एल अफिसियल जस्ता म्यागाजिनको कभर पेजमा छाइसकेकी छिन् भने भोग, ग्रासिया, हापर्स बजार तथा फेमिना जस्ता प्रतिष्ठित एवं चर्चित म्यागाजिनमा उनी फिचर भइसकेकी छिन् । 


