२८ असार ।
कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ ।
आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।
टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिनुभयो ।
“एकजनाले पानीको बोतल माग्नुभयो, हामिले दियौँ, बोतलको पिँधमा माकुरो देखियो”, भण्डारीले भन्नुभयो, “पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार गर्नुभएन ।”
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताउनुभएको छ ।
उहाँले खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको बताउनुभयो ।


