बागलुङ, १८ साउन।
बागलुङसहित ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।
सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको हो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार जिल्लामा रहेका सो उमेर समूहका झण्डै ५० हजार बालबालिकालाई फाइजर खोप दिइनेछ ।
“सुइँ आइसकेको छ, खोप यही २५ गतेपछि आउँछ”, उहाँले भन्नुभयो, “बालबालिकालाई विद्यालयमै तोकिएका खोप केन्द्रबाट खोप दिइन्छ ।”


