Wednesday 17 June 2026 / बुधबार, ३ असार २०८३

गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा लिएकामध्ये छ सय ५६ महिला र चार सय ४६ पुरुष रहेको उहाँले बताउनुभयो । त्यसबाहेक स्वास्थ उपचार सेवा लिएकामा थाइराइड, मुटुरोग तथा मिर्गाैला रोगका समस्या भएकाहरु समेत रहेको पाइएको उहाँले बताउनुभयो । कार्यक्रम अन्तर्गत असार महिनामा पहिलो पटक पालिकाभित्रका सबै वडामा पुगेर स्वास्थ्य परीक्षण गर्दा ज्येष्ठ तथा अशक्त नागरिकमध्ये २६८ जनामा उच्च रक्तचाप भएको पाइएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । त्यसबाहेक लक्षित अन्य ६०५ जनाको पनि स्वास्थ्यपरीक्षण गरिएको शाखा प्रमुख खनालले बताउनुभयो ।

“अबदेखि हरेक महिना निरन्तर ज्येष्ठ तथा अशक्त नागरिक घरदैलोमा पुगेर नियमित स्वास्थ्यपरीक्षण गछौँ”, उहाँले भन्नुभयो । नियमित रुपमा औषधि सेवन गर्नुपर्ने बिरामीलाई आवश्यकता आधारमा औषधिसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यक्रमबाट पालिकाभित्र बसोबास गर्ने ज्येष्ठ तथा अशक्त नागरिकको पहिचानसँगै उहाँहरुको स्वास्थ्य अवस्था नियमित जानकारी लिन सजिलो भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय