१७ भदौँ ,
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभएको छ ।
उहाँले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा नीजि अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार गर्दा धेरै खर्च हुने अवस्थाबाट जोगिन सरकारी अस्पतालमा उपचार गर्न आग्रह गर्नुभएको हो ।
“घातक रोग लागेका बिरामी नीजि अस्पतालमा जाने पैसा, सम्पत्ति सबै सक्ने र पछि सरकारी खोज्ने गरेको धेरै पाइयो, यसो नगर्नुस् सुरुमै उपचार गर्न सरकारी अस्पताल जाने बानी बसाल्नुस्”, मन्त्री खापुङले भन्नुभयो ।
उहाँले आफूले नीजि अस्पताललाई दूरुत्साउन नगरेको उल्लेख गर्दै सक्ने हैसियत भएका मात्रै नीजि अस्पतालतिर उपचार गर्न जानसक्ने बताउनुभयो ।
मन्त्री खापुङले सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक पालिकामा पाँचदेखि १५ शय्यासम्मको अस्पताल निर्माण भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिइरहेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, “अब जिल्लालाई हरेक क्षेत्रमा नमूना बनाउने जिम्मा जिसस पदाधिकारी र स्थानीय जनप्रतिनिधि कै हो, स्वास्थ्य क्षेत्रमा सबै मिलेर वार्षिक कार्यक्रम निर्माण गरी काम लाग्नुहोस्, यसपछि नागरिकले सवल स्वास्थ्य सेवाको महसुस गर्नेछन् ।”


