Saturday 26 September 2026 / आईतवार, ११ आश्विन २०८३

काठमाडौँ, ७ असोज,
दिपायल–डोटीको जोरायल गाउँपालिका–१ तिलाचौरका खड्क मल्ल आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न हुनुहुन्छ ।

बाइस वर्षदेखि उहाँले व्यावसायिकरूपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल हुनुभएको छ ।

बारीमा उत्पादित तरकारी बेचेर उहाँले वार्षिकरूपमा रु तीन लाखदेखि चार लाख आम्दानी गर्दै आउनुभएको छ ।

“परम्परागत तरिकाले विगतमा तरकारी खेती गर्दा मुस्किलले वर्षमा रु १० हजारदेखि १५ हजार मात्रै आम्दानी हुन्थ्यो”, उहाँले भन्नुभयो, “आधुनिक तरिकाले तरकारी खेती गरी बढी उत्पादन लिनका लागि तालिम पाएँ ।

तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थालेँ । उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा दुई गुणाले बढेको छ ।”

साथै उहाँले तालिमसँगै अनुदानमा थोपा सिँचाइसहितको प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेटलगायतका सामग्री पनि बनाएको बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकार र कृषि ज्ञान केन्द्र डोटी जिल्लाबाट छनोट भई उत्कृष्ट भीमदत्त कृषक पुरस्कार पनि प्राप्त गर्नुभएको थियो ।

तरकारी खेतीमै संलग्न डोटी जोरायल गाउँपालिका–२ का दिलबहादुर बैजालिमगरको वार्षिक कमाइ रु सात लाख जति हुने गरेको छ ।

तरकारी बजारमा बेचेर उहाँले आम्दानी गर्दै आउनुभएको छ । “व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरुप हँुदै गएको छ । तरकारी खेतीबाट आएको पैसाले घर खर्चसँगै छोराछोरीको खर्च चलाउन सहज भएको छ”, उहाँले भन्नुभयो ।

पहिलो वर्षमै दुई रोपनी जग्गाबाट मुला खेती सुरु गर्दा राम्रोसँग उत्पादन हुन थालेपछि यसलाई व्यावसायिकरूपमा लैजानुपर्छ भन्ने आफूमा आँट आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यही दुई रोपनी जग्गामा व्यावसायिकरूपमा मुला खेती सुरु भएको तरकारी खेती अहिले सिद्धेश्वर कृषि तथा पशुपन्छी फर्म दर्ता गरी पाँच वर्षका लागि कुमारी बैंकबाट रु सात लाख कर्जा लिई १८ रोपनी जग्गामा गरेको छु । अहिले बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छु ।”

दिलबहादुरले अझै व्यवसायलाई विस्तार गर्न चाहेको बताउनुभयो । बारीमा अहिले टमाटर, खुर्सानी, घिरौँला, काँक्रा, बन्दागोभी, आलु फलेका छन् ।

तरकारी खेतीबाट राम्रो आम्दानी गर्नाका साथै अहिले कुमारी बैंकको चार लाख ऋण तिरी बाँकी तीन लाखको ब्याज तिरिरहेको र कैलालीको अत्तरियामा आधा कठ्ठा जग्गा जोड्न सफल उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय