हेलम्बु, १० असोज,
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गर्नुभएको छ ।
पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ ।
किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन् । ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको बताउनुहुन्छ हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा ।
करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उहाँहरुले गरिरहनुभएको छ ।
किबीले अब केही समयमा उत्पादन दिने लामाले बताउनुभयो । च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन् ।
ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन ।
किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताउनुहुन्छ सञ्चालक लामा ।
उहाँले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताउनुभयो ।


