पोखरा, ३१ असोज
प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यतिबेला खेलकुदको कुम्भमेला चलिरहेको छ ।
झण्डै चारदशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराको खेल मैदानमा भइरहेका छन् ।
११ टोलीका छ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन् ।
यतिबेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ । खुलेको आकाश र सेतो हिमशृङ्खलाले यहाँ आउने जो कोहीलाई मोहित पार्छ नै त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै दङ्ग देखिन्छन् ।
आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेस प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिनुहुन्थ्यो ।
खेल मैदानबाट टलक्क टल्केको माछापुच्छ्रे«तिर आँखा लगाउँदै उहाँले भन्नुभयो, “यहाँको स्वच्छ र सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने, यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ”, क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेल मैदानबाट आफ्नो टोलीले स्वर्णपदक जितेको अनुभवलाई ताजा बनाउँदै भन्नुभयो, “खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर सहर पोखराको विशेषता हो ।”
उहाँले अहिले पनि पोखराको खेल मैदानमा माछापुच्छ्रे« साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताउनुभयो ।
“खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ ।”



