११ कार्तिक,
कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बङ्गुरपालन गर्दै आउनुभएकी कलावती भट्टले कोरोना सङ्क्रमण घटेसँगै बङ्गुरको बिक्रीमा कमी आएको बताउनुभयो । रु तीन करोड लगानी गरी फार्ममा उहाँले चार सयवटा बङ्गुरपालन गर्नुभएको छ ।
“वर्षमा झण्डै रु ५० लाख बढीका बङ्गुर बिक्री हुन्थे”, उहाँले भन्नुभयो, “गएको चैतसम्म रु तीन लाख मूल्यका बङ्गुर बेचेका थियौँ, त्यसपछि बङ्गुर बिक्री हुन पाएका छैनन्, दसँै, तिहारलगायतका चाडपर्वमा बङ्गुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।”
उहाँका अनुसार बङ्गुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बङ्गुर काठमाडौँसम्म लैजाने गरिन्थ्योे । यस वर्ष बङ्गुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै बङ्गुर थन्किएका छन् ।
बङ्गुरलाई चारोमात्रै खुवाउन हप्तामै रु एक लाख जति खर्च भइरहेको उहाँले गुनासो गर्नुभयो । उहाँको फार्ममा ल्याडे«स, डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायत उन्नत जातका बङ्गुर छन् ।


