विराटनगर, ६ मङ्सिर ।
नेपालका प्रमुख १० शहरहरुमा १० दिनपछि (यही मंसिर १६ गतेदेखि) मानवता प्रवद्र्धनका लागि हुन लागेको महत्वपूर्ण सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ हेर्न नेपालीसँगै भारतीय नागरिकसमेत उत्साहित भएका छन् ।
भारतको कतिपय ठाउँबाट कार्यक्रम हेर्न आउने भन्दै टिकटको माग भएको मानवसेवा आश्रम विराटनगरले जनाएकोछ ।
नेपथ्य कन्सर्टकोे पहिलो कार्यक्रम नै मंसिर १६ गते विराटनगरमा हुँदैछ । यहाँको हाटखोला मैदानमा कार्यक्रम हुन लागेको हो ।
उक्त दिन आउन अब १० दिनमात्रै बाँकी हुँदा भारतको धेरै ठाउँबाट नेपथ्य हेर्न आउने भन्दै टिकट माग गरेको मानवसेवा आश्रम विराटनगरका संयोजक पार्वती तिवारीले बताउनुभयो ।
“भारतको आसामबाट ४,५ जनाको फोन आइसकेको छ, हामी पनि हेर्न आउँछौँ, टिकट राखिदिनुहोला है भन्नुभएको छ”, संयोजक तिवारीले भन्नुभयो, “आउने भारतीय संगीत पारखीहरुका लागि हामी उचित व्यवस्था मिलाउने छाँै ।”
टिकट अनलाइनबाट पनि लिन सकिने व्यवस्था रहेको छ । उहाँले नेपालको धरान, दमकबाट समेत फोन आइरहेको बताउँदै यसरी फोन आउँदा कार्यक्रम भव्य हुने देखिएको बताउनुभयो ।
मानवसेवा आश्रममा आश्रित व्यक्तिका लागि सहयोग जुटाउनुका साथै निर्माणाधीन भवन सम्पन्न गर्न तथा आश्रमको अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन उक्त कार्यक्रम गर्न लागिएको हो ।
उहाँले चुनावका कारण २,४ दिन तयारीका कामहरु कम भएको तर आजबाट तिब्र रुपमा प्रचारप्रसारका साथै प्रायोजकहरु, अभिभावकहरु भेट्टे, टिकट विक्रीका लागि विभिन्न अभियानहरु चलाउने कार्य जारी रहेको बताउनुभयो ।
उहाँले अहिले दुई हजार ५०० भन्दा बढी टिकटहरु गइसकेको र ठाउँठाउँमा पुग्दा सकारात्मक प्रतिक्रियाहरु आइरहेका पनि बताउनुभयो । कार्यक्रमका लागि विराटनगर महानगरले सहआयोजक बन्ने प्रतिबद्धता जनाएको छ ।
‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट आगामी मङ्सिर १६ गते विराटनगरपछि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा हुनेछ ।
यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ । सबै शहरहरुमा कार्यक्रमको तयारी तिब्र पारिएकोछ ।


