काठमाडौं । लोकतन्त्रको पुनर्उदयसँगै नेपाली सङ्गीतमा सार्वजनिक भएको गीत ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, लोकप्रिय समेत बनेको थियो ।
उक्त गीत रेकर्ड भएको तीन दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन् । मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङको सङ्गीत संयोजन छ । गीतमा भारतीय वाधवादकको वादन छ । भारतीय फिल्मका चर्चित गीतको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले ‘सिमसिमे पानी’लाई नयाँ स्वरूपमा उतारेका हुन् ।


