Thursday 18 June 2026 / बिहीबार, ४ असार २०८३

रेसुङ्गा, गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभित्रका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउनका लागि पालिकाले आजको गाउँसभा बैठकबाट वार्षिक नीति तथा कार्यक्रममा समेट्ने गरी रू २० लाख बजेट विनियोजन गर्दैछ ।

पालिकाभित्रका महिनावारी हुने उमेरका सबै महिलालाई निःशुल्क प्याडको व्यवस्था गर्न लागिएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो । रकम अभावका कारण प्याड किन्न नसकेर वा प्याडको बदला अन्य कपडा प्रयोग गर्दा विभिन्न सङ्क्रमण हुने भएकाले निःशुल्क प्याडको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “सबै महिलाका लागि निःशुल्क प्याड व्यवस्था गरेका छौँ”, उपाध्यक्ष कुँवरले भन्नुभयो, “स्वास्थ्य संस्थामा कण्डम निःशुल्क हुनु तर महिलाका लागि अनिवार्य चाहिने प्याड निःशुल्क नहुँदा विभिन्न सङ्क्रमण हुने भएकाले निःशुल्क प्याडको व्यवस्था छौँ ।”

आर्थिक वर्ष २०८०/८१ को सुरुवातदेखि नै पालिकाभित्रका सबै महिलाले निःशुल्क स्यानिटरी प्याड पाउने गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताउनुभयो । महिनावारीको समयमा प्याडको प्रयोग नगर्दा विभिन्न रोग लाग्ने समस्या रहेकाले निःशुल्क व्यवस्था गर्ने निर्णय गरिएको उहाँको भनाइ थियो ।

“वार्षिक नीति तथा कार्यक्रममा आयो, बजेटमा पनि व्यवस्था गरिसक्यौंँ”, अध्यक्ष खड्काले भन्नुभयो, “कार्यान्वयनको लागि प्रतिबद्ध छौँ ।” इस्मा गाउँपालिकाको यस निर्णयले महिनावारी हुने उमेरका सबै महिलालाई राहत मिल्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय