हालै दुबईमा आयोजना भएको ईन्डो इन्टरनेसनल फेसन कार्निभल एण्ड अवार्ड २०२३ अन्तर्गत मिस स्टार युनिभर्स २०२३ मा नेपालकी २२ वर्षिया सृष्टि महर्जनले शीर्ष उपाधि जितेर मिस स्टार युनिभर्स २०२३ को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा उनले मिस गर्जियस र मिस प्राइड अफ स्टार युनिभर्सको उपाधि पनि जित्न सफल भएकी थिइन् । सफल नृत्य कलाकारका रुपमा परिचय बनाएकी सृष्टि नेपाः डान्स एकेडेमीका नृत्य प्रशिक्षक हुन् भने उनी बुगी वुगी नेपालका टप फाइभ फाइनलिष्ट पनि हुन् ।

कार्यक्रममा मिसेस्तर्फ सहभागि जोया बुढाथोकीले मिसेस् ब्युटीफुल बडीको अवार्ड जित्न सफल भएकी छिन् । मिस र मिसेस् स्टार युनिभर्समा सहभागि भएका दुवै जनालाई ग्रीन आर्टस् मिडिया प्रा.लि.ले सहभागिताका लागि संयोजन गरेको हो । सो कार्यक्रममा सहभागि भएका फेसन मेकअप आर्टिस्ट रश्मि श्रेष्ठ र महिला उद्यमी एवं व्यवसायी परिन्दा श्रेष्ठ परीले आ आफ्नो विधामा इन्टरनेसनल प्राइड अवार्ड २०२३ प्राप्त गरेका थिए । कार्यक्रममा फेसन कोरियोग्राफर तथा ग्रीन आर्टस् मिडिया प्रा.लि.का निर्देशक अनिला श्रेष्ठ इन्टरनेसनल जुरीका रुपमा सहभागि भएकी थिइन् ।


