यही जुलाई २० तारिख देखि जुलाई ३० तारिख सम्म श्रीलंकामा संचालन हुने पहिलो संस्करणको मिस वर्ल्ड टुरिजम २०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउँदै छिन् सजिना खनाल । सलार्हीकी २२ वर्षिया सजिना सो प्रतियोगितामा सहभागिता जनाउनका लागि साउन ४ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछिन् । सोही सम्बन्धमा सजिनालाई नेपाल सरकारका मन्त्रीद्वय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र खानेपानी मन्त्री महेन्द« राय यादवसित उहाँहरुकै कार्यकक्ष भेट्ने अवसर प्राप्त भएको छ । मन्त्रीद्वय किराँती र यादव दुवैजनाले सजिनालाई उनको यात्राको लागि शुभकामना प्रदान गरेका थिए । साथै नेपाललाई अन्तर्राष्ट्रिय मंचमा अझ सशक्त रुपमा प्रस्तुत गर्नका लागि पनि प्रेरित गरेका थिए ।

सो भेटमा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रमुख धीरज तण्डुकारको उपस्थिति रहेको थियो । सजिनालाई मिस वर्ल्ड टुरिजमका लागि इभेन्ट बेटर ग्यालेक्सीले नै छनोट गर्नुका साथै आवश्यक तयारीका लागि संयोजन र व्यवस्थापन पनि गरेको हो । ईभेन्ट बेटर ग्यालेक्सी सो प्रतियोगिताका लागि नेपालबाट आधिकारिक संस्था हो । सजिनाले यस अघि सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेका थिए भने यसवीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ गरेकी छिन् । बिहीबार श्रीलंका तर्फ प्रस्थान गर्नु अगाडि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकिरण र तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सजिनाको पहिरन डिजाइन सिआईएफटीले गरेको हो, मेकअपमा ग्लसी गल्र्सले साथ दिएको छ भने फोटोशुट नविन श्रेष्ठले गरेका छन् । श्रीलंकामा हुने यस प्रतियोगितामा नेपाल लगायत विश्वका तीस भन्दा बढी मुलुकका युवतीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार जुलाई २९ तारिखमा श्रीलंकाको कालुटारा स्थित साईट्रस वास्काडुवामा सम्पन्न हुनेछ ।


