Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

काठमाडौंं ,डेंगुको संक्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सबै वडामा एकैपटक लार्भा नष्ट गर्नेगरी सचेतना अभियान चलाएको छ।

सबै वडामा पानी जमेको ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाई गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने काम भइरहेको छ। अभियानका क्रममा बुधबार अभियानअन्तर्गत उक्त काम भइरहेको हो। माइकिङ गरेर रोगका विषयमा जानकारी दिँदै, अभियानमा सहभागी हुन अनुरोध गरिँदै छ। वडाको नेतृत्वमा सुरु उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरू सहभागी हुने छन्।

बुधबार वडा ३१ मा शान्तिवाटिका गेटबाट सुरु लार्भा नष्ट कार्यक्रम बागमती नदी किनारसम्म, वडा नं. १३ को ताहाचल ककन्चो मार्ग, वडा नं. २६ को लैनचौर, वडा २१ को जैसीदेवलतर्फको क्षेत्रमा लार्भा नष्ट गरिएको छ। यसैगरी वडा नं. २९ को घट्टेकुलो चोकबाट मैतीदेवी चोकतर्फ, वडा नं. १ को नागपोखरी, वडा नं. १४ को सुनारगाउँ चोकबाट कुलेश्वरसम्म, वडा नं. १७ को धोबीचौर क्षेत्र, वडा नं. २५ को बांगेमुढाबा न्योखा, तननी, टेंगल, भेडासिं, मच्छिन्द्रबहाल क्षेत्र, वडा नं. ३० को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट भैरवस्थान हुँदै कालोपुल, वडा नं. १९ को कंकेश्वरीबाट सुरु भएर इनाटोलतर्फ, वडा २ को लाजिम्पाट अम्बिका गल्ली, वडा २८ को भृकुटीमण्डप, वडा २४ को इटुम्बहालदेखि इन्द्रचोकसम्म लार्भा नष्ट कार्यक्रम गरिएको छ।

बर्खायाममा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न सफा पानीमा बस्ने एडिस जातका लामखुट्टेको बासस्थान नष्ट गरिदिनुपर्छ,’ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने, ‘लामखुट्टेको टोकाईबाट बच्न सके रोगबाट बच्न सकिन्छ भन्ने बुझेर घरका कुनै पनि ठाउँमा पानी जम्न नदिन स्थानीय सहभागिता आवश्यक हुन्छ।’

संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्छ। पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी नै लामखुट्टे हुर्कने ठाउँ हो । यस्ता ठाउँमा पानी जम्न नदिने हो भने डेंगु फैलाउने लामखुट्टे नियन्त्रण गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय