काठमाडौं, यही मार्च १८ देखि अप्रिल ४ तारिख सम्म ईजिप्टमा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ईको इन्टरनेसनल २०२१ मा नेपालका तर्फबाट सहभागिता जनाउनका लागि मिस ईको इन्टरनेसनल २०२० का रुपमा छनौट भएकी अनुष्मा रायमाझी त्यस तर्फ प्रस्थान गरेकी छिन् । नेपालका लागि कोरियोग्राफर अनिला श्रेष्ठ नेसनल डाइरेक्टरका रुपमा रहेको सो प्रतियोगिताका लागि ग्रीन आर्टस् मिडिया प्रा.लि.ले अनुष्मालाई मिस ईको इन्टरनेसनल नेपाल २०२० का रुपमा छनौट गरेको हो । सो प्रतियोगिताको शीर्ष उपाधिका लागि अनुष्माले विश्वका ६० भन्दा बढी मुलुकका सुन्दरीहरुसित प्रतिस्पर्धा गर्नेछिन् । प्रतियोगिताका लागि उनको वार्डरोब डिजाइन आईसी कलेज अफ आर्ट एण्ड फेसनमा अध्ययनरत विद्याथी डिजाइनर मेघावी श्रेष्ठले तयारी पारेकी हुन् । अनुष्मालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको बारेको अभिमूखीकीकरण तथा ग्रुमिङ कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका हुन् । 
व्यवसायिक रनवे मोडलका रुपमा परिचित २१ वर्षिया अनुष्मा रायमाझी ग्रीन आर्टस् मिडियाले आयोजना गरेको द कलेज एम्बासेडर २०१८ का विजेता पनि हुन् । टिजिआईएफ नेपाल फेसन सप्ताहको रनवे लगायत थुप्रै फेसन शोमा मोडलका रुपमा प्रस्तुत भइसकेकी अनुष्माले विभिन्न कभर शुट गरिसकेकी छिन् भने विभिन्न म्यागाजिनमा समेत फिचर भइसकेकी छिन् । 
मिस ईको इन्टरनेसनलमा नेपालको यो छैठौं सहभागिता हो । यस अघि सो प्रतियोगितामा नेपालका तर्फबाट प्रिन्सा श्रेष्ठ, नगमा श्रेष्ठ, रोनाली अमात्य, मौनता लामा तथा मुना गौचनले सहभागिता जनाइसकेका छन् ।


