नेप्लीज फेसन होमको आयोजनामा संचालन हुँदै आएको साँस्कृतिक सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालको १७ औं संस्करणको मेकिङ प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यही भदौ ५ गते राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा मिस नेवाः नेपाल ११४३को फाइनल प्रतिस्पर्धा मंचन हुँदैछ । फाइनल प्रतिस्पर्धामा सहभागिहरुले नमूना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत १९औं ब्याचका पाँचौं सेमेष्टरका विद्यार्थी डिजाइनरहरुले तयार पारेका आकर्षक पहिरनमा सजिएर आफूलाई प्रस्तुत गर्नेछन् ।

मिस नेवाः ११४३को तयारीका क्रममा प्रतिस्पर्धीहरुले हाल सम्म विभिन्न विषयमा आफूलाई अभ्यस्त बनाउँदै आएका छन् । जस अन्तर्गत प्रतियोगिताको अभिन्न अंगका रुपमा रहेको नेवाः पाक कला ज्ञान आदान प्रदान अन्तर्गत टोखाको सपनतीर्थ मन्दिरमा नेवार भोजको आयोजना गरिएको थियो । नेवार समुदायका युवतीहरुवीचको सबैभन्दा वृहत् साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा परिचित मिस नेवाः नेपालको ट्यालेन्ट राउन्डमा सहभागिहरुले नृत्य, गायन, अभिनय, वक्तृत्व, बाँसुरी वादन, कविता वाचन, कराँते लगायतको प्रस्तुतिमा आफ्नो अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको तयारी अन्तर्गत संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको प्रशिक्षण अन्तर्गत स्टेज प्रस्तुतिकरण अन्तर्गतका विभिन्न पक्ष संगै व्यक्तित्व तथा संचार कलाको विकास सम्बन्धी तालिम प्राप्त गरेको छन् । प्रशिक्षण अन्तर्गत नै कार्यक्रमको मुख्य संयोजक समेत रहेकी मिस नेवाः विजेता रहिसकेकी कृषा महर्जनबाट सहभागिहरुले नेवार समुदाय अन्तर्गतको पूजा गर्ने विधिमा प्रयोगात्मक सिकाई हासिल गरेका छन् । प्रतियोगिताका लागि नेपाल भाषा प्रशिक्षक राजु नापितबाट सहभागिहरुले नेपाल भाषा, रञ्जना लिपा, नेवार कला संस्कृति, संस्कार, परंपरा लगायतका कुरामा विस्तृत जानकारी हासिल गरेका छन् । नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित नेपाल भाषा प्रशिक्षक राजु नापितको नेतृत्वमा सहभागिहरुले विभिन्न नेवार लिपिबारे प्रयोगात्मक ज्ञान हासिल गरेका छन् । प्रशिक्षणकै अवधिका सहभागिहरुले सामाजिक कार्यमा आफ्नो सक्रियता प्रस्तुत गर्दै रक्तदान कार्यक्रमको पनि आयोजना गरेका छन् ।

प्रतियोगिता अन्तर्गत सहभागिहरुले राजधानी शहरको इन्द«चोकस्थित आकाश भैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गरेका थिए । फोटोसेसन, मेकअप र हेयरस्टाइलिङमा ग्रुमिङ देखि समाजसेवाको विभिन्न आयामहरुका पनि सक्रिय सहभागिता जनाएका मिस नेवाः नेपाल ११४३ का सहभागिहरुको अन्तिम प्रतिस्पर्धा नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।


