Sunday 14 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

फेसन र स्टाइल आजको परिवेशमा महत्वपूर्ण हुँदै गएको देखिन्छ । मौसम, व्यक्तित्व र अवसर अनुसारको चाहना बढेसंगै फेसनका नयाँ नयाँ शैलीले पहिरन प्रयोगकर्ताको आरामदायिकता र उसको व्यक्तित्वमा निखार ल्याउने अनेकौं प्रयोग र प्रस्तुति दिंदै आएको देखिन्छ । यही परिवेशमा पर्वका पहिरनको हरेकको वार्डरोबमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ । परंपरा र आधुनिकताको समिश्रणको माग बढ्दो पाइन्छ । यही कुरालाई ध्यानमा राखेर नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका सातौं सेमेष्टरमा अध्ययनरत १८औं ब्याचका विद्यार्थी डिजाइनरहरुले परिकल्पना गरेका तीज पर्व सुहाउँदा केही शैलीहरु यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएका सृजनाहरु फेसन जर्नालिजम वर्कशप अन्तर्गत तीज पर्व पहिरनशैली थिम अन्तर्गत सबमिट गरिएका डिजाइन स्केच र राइटअप मध्येबाट छानिएका उत्कृष्ट सृजनाहरुलाई यहाँ समेटिएको छ ।

सुजिना गोलेको सृजना

फेसन डिजाइनर सुजिना गोलेले कल्पना गरेको यो डिजाइन महिलाहरुको पर्व तीज र सो पर्वसित जोडिएका रंगहरुबाट प्रेरित रहेको छ । सुन्दर फिटेड वेष्ट लाइन सहितको यो पहिरनको मुनितिर थ्री टाइर्ड शैलीको आकर्षण भेट्न सकिन्छ । फूलहरुको सुन्दरतालाई ईम्ब्रोइडरी गरी पहिरनको वेष्ट लाइन तथा दुपट्टामा सजाइएको छ भने स साना पातहरुको ईम्ब्रोइडरीलाई पहिरनको सबै भागमा प्रस्तुत गरिएको छ । अम्ब्रे इफेक्ट यो गाउनको हाईलाइट हो भने मिहिन खालको ह्यान्ड वर्कलाई पहिरनको सबैजसो भागमा आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । यसले पहिरनलाई एलिगेन्ट पार्टी वेयरको रुप प्रदान गरेको छ । अम्ब्रे स्टाइललाई मूर्त रुप प्रदान गर्नका लागि हरियो तथा रातो रंगको सफ्ट सिल्क फ्याब्रिकको प्रयोग गरिएको छ । दर खाने कार्यक्रमका लागि सुहाउँदो यो गाउन विशेषतः नव विवाहिताहरुको उपयुक्त हुन्छ । यो डिजाइन सुहाउँदा चुरा तथा लाछा डोरीको प्रयोगबाट यो पहिरन सहितको लुकलाई पूर्णता प्रदान गर्नु राम्रो हुन्छ ।


देवी गुरुङको सृजना

अठार देखि पच्चीस वर्ष उमेर समूहका लागि फेसन डिजाइनर देवी गुरुङले विचार गरेको यो पहिरन ¥याफल लेहेंगा हो र यो मजेन्टा कलरबाट प्रेरित रहेको छ । यो पहिरनको विशेषता भनेकै लेहेंगाको मुनिको भागमा ¥याफलको सात वटा लेयर हुनु हो । सात अंकलाई लक्की सेभेनका रुपमा लिइने भएकाले यो पर्वको माहौलमा सेभेन लेयर्ड लेहेंगा परिकल्पना गरिएको हो । यो संगै सुहाउँदो स्वीट हार्ट नेकलाइन तथा ¥याफल स्लीभ भएको सुन्दर चोली डिजाइन गरिएको छ । पहिरन प्रयोगकर्ताको सहजता र आरामदायिकतालाई ध्यानमा राखेर तयार पारिएको यो पहिरन सुन्दर र एलिगेन्ट देखिनुका साथै ¥याफल डिजाइनले यो पहिरनमा कन्टेम्पोररी फ्युजन स्टाइल संचार गरेको छ । यो पहिरन सहितको लुकलाई पूर्णता प्रदान गर्नका लागि पिंकिश ग्लो मेकअप लुक तथा बाउन्सी वेभी कर्ली हेयर सुहाउँदो हुन्छ भने फुटवेयरमा गोल्डेन कलरको हिल्स उचित हुन्छ ।

अलिशा थाडा मगरको सृजना

रातो, मरुन तथा हरियो जस्ता तीज पर्वका मुख्य रंगहरु नै यो डिजाइनको मुख्य थीम रहेको छ । फेसन डिजाइनर अलिशा थाडा मगरले प्रस्तुत गरेको यो पहिरनशैलीलाई मोर्डन टच सहित डिजाइन गरिएको छ । अतः यो परिहनको सिलहुट डिसेन्ट राखिएको र स्टाइल मर्मेड रहेको छ । पहिरनशैली माथिल्लो भागलाई सिक्वीन्स डिजाइन गरिएको छ ताकि ब्लाउजलाई सबैले नोटिस गरोस् । पहिरनशैलीको लोअरलाई भने मर्मेड स्टाइल स्कर्टमा तयार पारिएको छ भने यसमा प्लेन सिफनको कपडाको प्रयोजन रहेको । यो शैलीसित अमेरिकन डायमण्ड ज्वेलरी विशेष रुपमा सुहाँउदो छ । यसले नारी व्यक्तित्वमा थप आत्मविश्वास र प्रभावकारिता संचार गरेको छ ।

निकिता गुरागाईंको सृजना

सुन्दर सागरको विषयवस्तुको आकर्षणबाट प्रभावित फेसन डिजाइनर निकिता गुरागाईंले कल्पना गरेको यो साडीले गुलाबी र मनमोहक टरक्वाइज रंगको समिश्रणलाई अँगालेको छ । यो उत्कृष्ट पहिरन शैली जर्जेटमा तयार पारिएको छ भने यसलाई शिफन र सिल्कको प्रयोगबाट पनि बनाउन सकिन्छ । जसबाट एउटा आकर्षक डे«प र अनुमप आरामदायिक शैली सिर्जना गर्न सकिन्छ ।
स्पट टिल पिन्क जेलीफिशको ईथरियल सौन्दर्यबाट प्रेरित भएको यो साडीले पानी मुनिको सुन्दरताको सारलाई प्रस्तुत गरेको छ । पिन्क शेडले स्त्रीत्वलाई प्रतिबिम्वित गर्दछ भने टरक्वाइज रंगले समुद«को गहिराईमा जेली माछाको घुमाउरो गतिलाई प्रतिनिधित्व गर्दछ । समग्र डिजाइनको परिणाम मन्त्रमुग्ध बनाउने खालको छ जसमा परिष्कार र अनुग्रह समावेश भएको देखिन्छ । सहज रुपमा पहिरिन सकिने गरी डिजाइन गरिएको यो साडीमा परंपरागत तत्वहरु तथा समसामयिक सौन्दर्यशास्त्रको विचारशील मिश्रण रहेको छ, ड्रेप गर्न सजिलो शैलीले सहज सुन्दरताको लागि उपयोगि हुन्छ । मौसम अनुसार साडी प्रयोग गर्न चाहनेहरु र समय सीमाको घेराभित्र नरहेको पहिरन लगाउन चाहनेहरुका यो डिजाइन उपयुक्त हुन्छ । पफ्ड स्लीब्सले भिन्टेज आकर्षणको स्पर्श थप्दछ जसले एन्सेम्बलको समग्र अनुग्रहलाई बढाउँछ र फ्ल्याटरिङ शिलहुट्सको सिर्जना गर्दछ । स्वीटहार्ट नेकलाइनले अनुहारको सुन्दरलाई अझ निखार ल्याउँछ साथै स्त्रीत्वको अनुग्रहलाई पनि अझ उजागर गर्दछ ।

रितु बुद्धाचार्यको सृजना

तीज पर्वबाट प्रेरित डिजाइनर रितु बुद्धाचार्यले प्रस्तुत गरेको यो पहिरन शैलीले परंपरागत अवतारमा आधुनिक स्वरुप अँगालेको छ । परंपरा र आधुनिकता दुवैलाई संग संगै लाने प्रयास यो डिजाइन शैलीले गरेको छ । कम्मर तथा हिप एरियामा डे«पिङ स्टाइल भएको यो डिजाइन फ्लोइङ ए लाइन सिलहुट्समा रहेको छ । पहिरनको माथिल्लो भाग वाइड शोल्डर भएको स्वीट हार्ट नेकलाइन सहितको क्वार्टर लेन्थको स्लीव्स भएको ब्लाउज हो । तल्लो डिजाइन भने स्कर्ट हो । ब्लाउज र स्कर्टका लागि जर्जेट फ्याब्रिक चयन गरिएको छ भने पहिरनको बोर्डरमा परंपरागत ईम्ब्रोइडरीको आकर्षण पाइन्छ । शल र ड्रेपिङका लागि अर्गेन्जा फ्याब्रिक प्रयोग गरिएको छ । व्हाइट, अफ व्हाइट, रेड, ग्रीन, येलो गोल्ड जस्ता रंगको उपयोगले पर्व माहौललाई समेट्नुका साथै पहिरनमा सफ्टनेस र एलिगेन्सलाई पनि समेटेको छ । चुरा लगायतको परंपरागत गरगहनाको उपयोगले यो शैलीको लुकलाई पूर्णता प्रदान गर्दछ ।


सपना तामाङको सृजना

डिजाइनर सपना तामाङका अनुसार यो पर्वको माहौललाई आत्मसात गर्दा स्टनिङ खालको लेहेंगा पहिरनु जस्तो राम्रो र सुन्दर विकल्प शायदै होला । यो लेहेंगालाई तीज पर्वको विशेषतालाइ आत्मसाथ गरी तयार पारिएको छ जसमा रातो, हरियो तथा गोल्डेन कलरलाई प्राथमिकता दिइएको छ । जसलाई प्रेम, समृद्धि, उर्वरता र ईश्वरीय अनुग्रहको प्रतिक मानिएको छ । ब्लाउज, दुपट्टा र लामो फ्लेयर्ड स्कर्टको संयोजन यो लेहेंगाको विशेषता हो । ब्लाउजले परिष्कृत घुमाउरो स्क्वायर नेकलाइन देखाउँछ । स्कर्टलाई सुन्दर काउल डे«पका साथमा डिजाइन गरिएको छ र यसले हिप लाइनलाई सुन्दर तरिकाले इन्हान्स गरेको छ साथै फ्ल्याटरिङ लुक पनि प्रदान गरेको छ । सुहाउँदो दुपट्टालाई काँधमा सुन्दर ढंगबाट प्रयोग गर्न सकिन्छ वा चाहेको रुपमा स्टाइल पनि गर्न सकिन्छ । लेहेंगा ब्लाउज र स्कर्टको किनारमा मिहिन रुपमा गरिएको इम्ब्रोइडरीले सजाइएको छ । यो डिजाइनलाई अझ विशेष देखाउनका लागि सुनको हारलाई सुहाउँदो झुम्का र शेषपट्टीलाई ब्लाउजको घाँटीमा सुन्दर ढंगबाट विस्तार गरिएको छ । मेकअपका लागि बोल्ड आँखा, गुलाबी बाला र स्टेट्मेन्ट ओठलाई तीज प्रेरित लेहेंगाको पूरक बनाउन सिफारिस गरिन्छ । सुशोभित जुक्ता, सुनौलो र चाँदीको रंगका चप्पल जुक्ता आदि सुहाउँदो फुटवेयरका विकल्प हुन् । चुराको प्रयोगले समग्र रुपमा तीजको परंपरागत मुल्यमान्यता र रमाइलो भावलाई पनि झल्काउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय