काठमाडौं, सहभागिता,प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेश सर्वाधीक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित भएको मोडल हन्ट नेपाल सिजन ६ को यतिखेर मेकिङ प्रक्रियाले गति लिंदै गरेको अवस्था छ । मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर ३५ जना युवा एवं ३३ जना युवतीहरु यतिखेर मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्नमा अभ्यस्त रहेका छन् । जस अन्तर्गत उनीहरुले ¥याम्प मोडलिङका विविध आयाम र व्याकरण देखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यवासायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गरिरहेका छन् । उनीहरु कोरियोग्राफर रोजिन शाक्यको मुख्य प्रशिक्षण अन्तर्गत आफ्नो व्यक्तित्वमा मोडलको आवरण र आधार सृजना गरिरहेका छन् । 
यस बाहेक मोडल हन्ट नेपालको प्रशिक्षण परिधिमा सहभागिहरुले व्यवसायिक मोडल बन्नका लागि आवश्यक फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, संचार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत महत्वपूर्ण पक्षहरुमा आफूलाई अभ्यस्त बनाएका छन् । यी विषयहरुमा माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ, लुजा मेकअप स्टुडियोले आ आफ्नो भूमिका निर्वाह गरेका छन् । समग्रमा सहभागिहरु व्यक्तिबाट व्यवसायिक व्यक्तित्व बन्ने रुपान्तरणको प्रक्रिया अन्तर्गत अगाडि बढिरहेका छन् । 
यो वीचमा सहभागिहरुले विभिन्न चरणको फोटोसेसन आफूलाई सहभागि गराइसकेका छन् भने रक्तदान, विपन्न तथा अनाथ बालबालिकाहरुको सहायोर्थको कार्यमा पनि सक्रियता दर्शाइसकेका छन् । रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन हुने मोडल हन्ट नेपाल सीजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप संचालन हुने जनाइएको छ । नेक्स्ट मोडल्स नेपालको ब्यानरमा प्रस्तुत हुने ग्राण्ड फिनालेमा सहभागिहरु आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनहरु सहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा सजिएर अन्तिम प्रतिस्पर्धाको मैदानमा उत्रनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत्र १४ गते काठमाडौं सोल्टीमोड स्थित होटल सोल्टी क्राउन प्लाजामा भव्यतापूर्वक संचालन हुने जनाइएको छ ।
प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, वेभ म्यागाजिनको कभर पेजको इन्डोर्समेन्ट लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् ।


