लेखक- सनिश भण्डारि/ आदित्य नेपाल
हिन्दु पौराणिक कथा अनुसार हिरण्यकश्यप एक दैत्य राजा थिए । जसले आफ्नो प्रजालाई आफुलाई मात्र पुज्न आदेश दिएका थिए । तर उनको छोरा प्रह्रलाद विष्णुको भक्त थिए । त्यसकारण हिरण्यकश्यपले आफ्नो छोरा प्रह्रलादलाई आफ्नी बहिनी होलिकासँग जल्न आगोमा राख्दिन्छ्न । हिरण्यकश्यपको बहिनी होलिकासँग आगोमा नजल्ने वरदान हुन्छ । भगवान विष्णुले आफ्नो भक्तको पीडा सहन नसकेर प्रह्रलादलाई बचाउछ्न र होलिका त्यही आगोमा भष्म हुन्छिन । यसैकारण यस दिनलाई नराम्रो माथी राम्रोको विजय अर्थात असत्य माथी सत्यको जित भएको दिनको रूपमा विशेष उत्साहको साथ होलि मनाइन्छ ।
उसो त होलिसँग धेरैवटा किम्बदन्तिहरु जोडिएर आउँछ्न तर सबैभन्दा प्रख्यात यहि किम्बदन्ती रहेको छ । होलिलाई फागुन महिनाको शुक्लपक्षको पुर्णिामा तिथिमा मुलभुत रूपले हिन्दु धर्मावलम्बीहरुले मनाउँदै आएका थिए भने आजभोलि गैरहिन्दुहरुको निम्ति पनि एउटा आकर्षणको बिन्दु बनेको छ । खयर, हाम्रो बुझाइमा रहनुपर्ने कुरा भनेको होलि पौराणिक कालदेखी नै हाम्रो संस्कृतिको हिस्सा रहेको छ । होलि खेल्ने दिनको अघिल्लो रात होलिका दहन गरिन्छ । राती होलिका दहन गरेपछि बिहान पानीमा रङ्ग घोलेर एकाअर्कालाई छेपर र रङ्ग दलर मनाउने चलन छ ।
नेपालको परिप्रेक्षमा भने होलि पहाडको र तराईको गरि दुई दिन मनाइन्छ । एैतिहासिक रुपले हेर्दा होलिको संस्कार नेपालको तराई-मधेसमा बेसि रहेको देखिन्छ । तर पछिल्लो केही वर्षयता होलि संस्कारको रूपमा अरु भेगका मान्छेहरू बिच अधिक लोकप्रिय र महत्वको चाड बनेको छ। पहाडका विभिन्न जातजातिका मानिसहरु जब तराईमा बसाइ सरे उनीहरुलाई यहाँको संस्कार र संस्कृतिले प्रभाव पार्यो । यहाँ बसाइँसरेकाहरुको वैवाहिक सम्बन्ध जब फेरि पहाडसँग जोडिन थाल्यो उनीहरुले यहाँको संस्कारहरुलाई पनि आफैसँग लिएर गए । उसो त पहाडको भेगमा पनि होलि नमनाइने होईन तर यस्ता वैवाहिक सम्बन्धहरुले पहाडमा होलि मनाउने तरिकामा तराईको होलि मनाउने संस्कारको प्रभाव पर्यो । यसको ज्वलन्त उदाहरण हामीले भांगको सेवनलाई लिनसक्छौँ जुन हरेक भूगोलका मानिसहरु अहिले गर्ने गर्छन् र होलिमा भांग खाने संस्कार तराईबाटै आएको हो भन्ने मानिन्छ । त्यसैले होलिको लोकप्रियता बढ्नुमा बसाइँसराइको महत्त्वपूर्ण भुमिका छ ।
अहिलेको परिप्रेक्षमा होलिको लोकप्रियता बढाउन अर्थतन्त्रले पनि ठुलो हिस्सा ओगटेको छ । मादक पदार्थ बिक्री वितरणमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो ब्रान्डको विज्ञापन गर्नको निम्ति होलिलाई अवसरको रूपमा बुझ्ने गर्छन् । त्यसैले होलिमा मादक पदार्थको सेवन यस पर्वलाई मनाउनेहरुको निम्ति अपरिहार्य बनेको छ ।
उसो त नेपालको सिमित जातजातिहरुको सांस्कृतिक संस्कारको हिस्सा पनि मादक पदार्थ सेवन हो तर यस्तो चाड पर्वले बाहुन-क्षेत्रीहरु बीच पनि यो संस्कारले ठाउँ पाएको छ । यो संस्कार विभिन्न जातजातिहरु बीच सांस्कृतिक एकीकरणको एउटा सुत्र बनेको छ तर आफैमा यो एउटा स्वास्थ्य विकल्प हो या होईन भन्ने कुरामा प्रश्न गर्न सकिन्छ । यस्ता कम्पनीहरुले विभिन्न विज्ञापन, होडिङ बोर्ड र कन्सर्ट मार्फत होलिको अवधारणालाई अधिकांश मानिसहरूको माझ पुर्याएको छ जसले गर्दा होलि पर्वलाई यसको वास्तविक अर्थमा हेर्न छोडिएको छ ।
भारतीय सिनेमाहरु नेपालीहरुको जीवन र जीवनप्रतिको सांसारिक दृष्टिकोणलाई प्रत्येक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । भारतीय चलचित्रले होलि चाडलाई निकै रोमाञ्चित गरेर प्रस्तुत गरेको देखिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनको “बागवान” देखी साहिद कपुरको ” कबिर सिंह” सम्म आँउदा होलिको परिमार्जित स्वरूपलाई देखाउदैँ दर्शकहरु माझ प्रस्तुत गरियो । यसले होलिलाई लोकप्रियता प्रदान गर्यो तर यसको साथै होलिलाई किन मनाउने र यस संस्कृतिको हाम्रो सामाजिक जीवनमा के महत्त्व छ भन्ने कुरा देखाउन सकेन । जसलेगर्दा मानिसहरुको होलि प्रती अस्पष्ट र फरक दृष्टिकोण देखिन्छ ।
खैर होलि नेपालको लोकप्रिय संस्कृतिको रूपमा विभिन्न माध्यमहरु मार्फत स्थापित भएको छ । युवा वर्गहरुदेखी वृद्धहरु सम्म, हिन्दुहरुदेखी गैरहिन्दुहरुसम्म र विविध जातीहरुमा होलि प्रती एउटा मोह र उत्साह देखिन्छ । यस चाड्लाई यसको वास्तविक अर्थमा हेर्दा मानिसहरु बीच भाइचाराको सम्बन्ध बढाउने, समाजमा राम्रो कुराको स्थापना गर्नुपर्ने र सामुहिक सदभावनाको विकास गर्नुपर्छ भन्ने देखिन्छ तर होलि संस्कृतिको रूपमा प्राकृतिक ढंगले मात्र लोकप्रिय नभएको र विभिन्न तत्वहरुको प्रभावले यसको पछिल्लो परिष्कृत रुप समाजिक उन्नतिको दृष्टिकोणबाट सहि देखिदैन ।
हरेक संस्कृतिलाई उसको आफ्नो अर्थमा हेरेरै मनाउन आवश्यक हुन्छ । र यसले गर्दा मात्र त्यस संस्कृतिको सहि रुपले जगेर्ना हुनसक्छ । विभिन्न तत्त्वहरुको प्रभावले यो चाड मनाउँदा विकृतिहरु विभिन्न तवरले पसेका छन् ।
मादक पदार्थ पिउनुले संस्कृतिक एकीकरणको पाटो झलकाएता पनि यसलाई सिमित ढंगले प्रयोग नगर्नाले र सेवन गरि सार्वजनिक स्थलमा होहल्ला र अनैतिक क्रियाकलापले यस पर्वको महत्त्व घटाएको छ ।
युवावर्गहरु होलि कसरी मनाउने भन्ने कुराको उचित मार्गदर्शन पाएका छैन्न । होलिको अर्थतन्त्र र सिनेमाले प्रदर्शित गरेको होलिका विभिन्न अवधारणाहरुले अहिलेको नयाँ पुस्तालाई गलत ढंगबाट आकर्षित गरेको छ । होलिको बेलामा अपरिचित व्यक्तहरुलाई जबर्जस्ति रङ्ग दल्ने, लोला हान्ने र रङ्गमा विभिन्न थरीका केमिकलहरु मिसाई अरुलाई दल्ने/छर्किने गरिन्छ । होलिको समयमा सार्वजनिक रुपले महिलाहरुलाई गर्ने दुर्व्यवहार ठूलो मात्रामा देखिन्छ ।
हामीकहाँ सामुदायिक होलिको अभ्यास नभएकोले विभिन्न ठाउँहरु घुमेर होलि खेल्ने र त्यसको बीचमा धेरै अनैतिक र अराजक क्रियाकलाप भएको देखिन्छ । अहिलेको नेपाली समाजमा हरेक टोलटोलका मानिसहरुले सामुहिक होलि मनाए महिलाहरू माथी हुने दुव्र्यवहार न्यून हुनसक्छ । यस चाड प्रती एउटा अपनत्वको भावना वृद्धि गर्छ र होलिलाई जुन अर्थमा लिनु पर्ने थियो त्यही अर्थमा लिइन्छ ।
लेखक- सनिश भण्डारि/ आदित्य नेपाल


