काठमाडौं– काठमाडौंमा सम्पन्न दोश्रो साधारण सभाबाट सौन्दर्य प्रतियोगिता संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । यो संघको अध्यक्षमा मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति चयन भएका छन् ।
आगामी दुई वर्षका लागि साधारण सभाले कक्षपतिको अध्यक्षतामा ११ सदस्यीय नयाा कार्यसमित चयन भएको हो । संघको उपाध्यक्षमा फुपु तेन्जिङ शेर्पा र रमी श्रेष्ठ, महासचिवमा निशुकान्त झा, तथा कोषाध्यक्षमा बालकृष्ण पोखरेल चयन भएका छन् ।
यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरुमा आश्विनी कान्त झा, अनिला श्रेष्ठ, नारायण आचार्य, मन्जु श्रेष्ठ, शारदा सापकोटा र शारदा थापा चयन भएका छन् ।
संघका नव निर्वाचित महासचिव निशुकान्त झाले संघले सौन्दर्य प्रतियोगिता सम्बन्धि आचारसंहिता तयार गरेको र चाँडै नै आचार सहिता लागू गरेर सौन्दर्य प्रतियोगितालाई व्यवस्थित बनाउने बताए ।
यसअघि पनि संघको महासचिव नै रहेको झाले संघ अब प्रादेशिक संरचनामा जाने पनि कार्यक्रममा जानकारी गराए ।
नेपालमा अढाई दशकदेखि सुरु भएको सौन्दर्य प्रतियोगिता पछिल्लो समय नेपालमा वार्षिक रुपमा २ सय ५० भन्दा बढी कार्यक्रमहरु हुन थालेपछि यो संघ स्थापना गरिएको संघका अध्यक्ष कक्षपतिको बताए ।
नेपालमा एसिड आक्रमणको शिकार भएकाहरुको सम्मानमा चाँडै एक कार्यक्रम गरेर उनीहरुलाई समाजमा बाहिर आउन आफुहरुले प्रोत्साहन गर्ने अध्यक्ष कक्षपतिले बताएका छन् ।


