तेलअबिब, इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोद नेभेगको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ ।
इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनमा चुनौती सामना गरिरहेको छ । यद्यपि नेपाली विद्यार्थीहरुको शवलाई भने इजरायल सरकारले आफ्नै खर्चमा पठाउने भएको छ ।
असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमासले अन्धाधुन्ध गोली गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए । चारजना घाइते भए भने एकजनाको अवस्था अज्ञात छ ।
इजरायलमा ठूलो संख्यामा हताहती भएकाले शव पहिचान र व्यवस्थापन चुनौती छ । इजरायली अधिकारीका अनुसार शवलाई प्लास्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको छ । १३ सय शवको पहिचान भइसकेको छैन, जसमा विदेशी नागरिक पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सबै नागरिकको पहिचान गर्न समय लाग्ने भएकाले शव पठाउन ढिलाइ हुने भएको हो । इजरायलमा विदेशीसहित सबैको फ्रिङ्गरप्रिन्ट राखिन्छ ।