कम्बोडियामा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालका तर्फबाट सलिना नेपालले सहभागिता जनाउने भएकी छिन् । ढोलाहिटी, ललितपुर निवासी २३ वर्षिया सलिनाले यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२३ को शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । प्रतियोगिताको ग्राण्ड विजेता बनेसंगै सलिनाले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । पाँच फिट चार इन्ट उँचाईंकी सलिना आफूलाई आत्मविश्वास, मित्रवत् र इमान्दार भएकी बताउँछिन् । पब्लिक एडमिनिष्टे«सनमा स्नातक गर्दै गरेकी सलिना फुर्सदको समयमा पौडी, नृत्य र स्केचिङमा व्यतित गर्न रुचाउँछिन् ।

मिस प्लानेट इन्टरनेसनलमा सहभागि हुन सलिना यही कार्तिक ९ गते कम्बोडिया प्रस्थान गर्दैछिन् । प्रतियोगितामा सहभागि हुनु पूर्व सलिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे अभिमूखिकीरण र प्रशिक्षण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी छिन् । मिस प्लानेट इन्टरनेसनल २०२४ को अन्तिम प्रतिस्पर्धा १९ नोभेम्बर अर्थात् आउँदो मंसीर ३ गते कम्बोडियाको नोम पेन स्थित को पिक थिएटरमा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ ।


