Friday 19 June 2026 / शुक्रबार, ५ असार २०८३

गुल्मी, स्वास्थ्य कार्यालय गुल्मीका अनुसार संघीय सरकारले विपन्न नागरिक उपचार कोषमार्फत सात किसिमका रोगबाट पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । जसमा गुल्मी अस्पतालबाट मिर्गौलापीडित ६३, मुटुरोगी एक सय सात, क्यान्सरका दुई सय, हेड इन्जुरीका तीन र स्पाइनल इन्जुरीका ११ जना गरेर तीन सय ७४ जनाले सेवा लिएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्यउपचार विशेष आर्थिक सुविधाअन्तर्गत सरकारले तीन प्रकारका रोगबाट पीडितलाई दुई लाख दिने व्यवस्था गरेको छ । जसमा मिर्गौला प्रत्यारोपण गरेका २५ जना, क्यान्सरका एक सय १३ र मुटुको भल्भ फेरेका ४३ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । मिर्गौला रोगको हकमा प्रत्यारोपण गर्नेलाई र मृटु रोगको हकमा भल्भ फेर्नेहरूले मात्रै प्रदेशको सुविधा पाउने आचार्यले बताए । त्यस्तै, संघीय सरकारले आर्थिक वर्ष ०७८र७९ बाट तीन प्रकारका रोगबाट पीडित व्यक्तिहरूलाई मासिक पाँच हजार प्रदान गर्दै आएको छ । यो सेवा लिने मिर्गौलापीडित एक सय १४, क्यान्सरका दुई सय २४ र इस्पाइनल प्यारालाइसिसका १९ जना छन् ।

रेसुंगा नगरपालिका– ३ का देवीराम खनाल एक वर्षदेखि मिर्गौलापीडित छन् । अस्पताल र कोठा खोजेर सात महिना काठमाडौंमा डायलाइसिस गरे । मामा मिर्गौला दिन सहमत थिए । तर, लामो समयपछि अस्पतालले नमिल्ने बतायो । काठमाडौंको खर्च र पीडाले खनाल घर फर्किए । घर फर्किएपछि पाल्पा गएर डायलाइसिस गर्न थाले । रोगले थला परेको ज्यान र टाढाको गाडी यात्रा । उनले निकै मुस्किलले दुई महिना बिताए । अहिले गुल्मी अस्पतालमा डायलाइसिस गराउन पाउँदा खनाललाई केही राहत भएको छ । पुस पहिलो साताबाट गुल्मी अस्पताल तम्घासमा मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ ।

गुल्मी अस्पतालमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा नसर्ने कडा रोगका बिरामीका लागि क्लिनिकबाट सेवा उपलब्ध हुनेछ । नेपाल सरकार र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ संस्थाले पेनप्सल परियोजनाले पाइलोटिङ प्रोजेक्टका रूपमा काम गरिरहेका छन् । अस्पतालमा पाँचवटा डायलाइसिस मेसिन छन् । मेसिन सञ्चालनका लागि एकजना मेडिकल अधिकृतसहित तीनजना जनशक्तिको व्यवस्था गरिएको छ । उनीहरूले तालिम लिएर आएको र थप दुईजनालाई पनि तालिमका लागि पठाएको गुल्मी अस्पताल तम्घासका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। किशोर बन्जाडेले बताए । अहिले एकजनाले डायलाइसिस गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय