काठमाडौं । आज भन्दा ठिक ३ वर्ष पहिले । संघीय संसदको प्रतिनिधिसभाको बैठक । सभामुखसँग समय लिएर रोष्टममा उभिए प्रधानमन्त्री केपी शर्मा ओली । संघीय संसदको रेकर्ड अनुसार २०७४ साल पुस १७ गते ।
सभामुखसँग् उनले समय लिएकाले नेपाली जनतालाई विश्वासमा लिने केही महत्वपूर्ण भाषण गर्लान् भन्ने धेरैको अपेक्षा थियो । मिनपचासको जाडो यस्तै थियो, यसपालाको जस्तै । प्रतिनिधिसभाको बैठक कक्ष भरीभराउ थियो ।
प्रधानमन्त्रीले आफनै शैैलीमा भाषण शुरु गरे । उनले आफना विरोधीमाथि प्रहार गर्न उखान टुक्का प्रयोग गर्छन र राष्ट्रिय समस्या समाधान गर्न भन्दा हावादारी भाषण गरेरर एक छिन सुन्नेलाई रमाइलो प्रदान गर्छन् । यो उनको शैली नै बनेको छ । त्यसदिन पनि त्यसै गरे , उनले ।
आफनै शैलीमा भाषण शुरु गरेका प्रधानमन्त्रीले राष्ट्रिय विषयलाई छाडे । बरु उनले रेल र पानीजहाजको टिकट काट्नका लागि तयार रहन आग्रह गरे ।
उनले विगतमा रेल र पानीजहाज ल्याउँछु भन्दा मलाई खिल्ली उडाउनेहरू अहिले हो रहेछ भन्ने थालको बताए । प्रधानमन्त्री ओलीले त्यसदिन भनेका थिए ‘अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौ ।’
उनले त्यत्ति मात्रै भनेनन् । समृद्धिको सपना देखेर कुनै गल्ती नगरेको बताए । ओलीले त्यसदिन अगाडि बढेर भनेका थिए, ‘बजेट र नीति कार्यक्रमको अर्धवार्षिक समीक्षामा छौं । सरकार बनेको १० महिना अवधिको पनि समीक्षामा छौ । वैज्ञानिक विधिबाट सरकार सफल भयो कि भनेर सूचकका आधारमा मूल्यांकन गर्छौं । समृद्धिको सपना देखेर कुनै गल्ती गरेनौं ।’ उनले दोलाघाटबाट पानीजहाज चल्ने र टिकट काटन तयार भएर बस्न प्रतिपक्षी नेपाली काँग्रेसका सांसदलाई आग्रह गरे ।
काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले हवाई सपना बाढेको र पानीजहाजको नाममा हुँदै नहुने सपना बाडेको बताएका थिए । थापाको प्रश्नमा उत्तर दिने क्रममा ओलीले पानीजहाजको टिकट काटन तयार हुन भनेका थिए ।
अहिले …
यो ३ वर्ष पहिलेको कुरा थियो । अब अहिले फर्कौ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको रणनीतिक योजना भन्दै हल्ला गराएका थिए । उनले उक्त योजनालाई फ्ल्यागसिप कार्यक्रमको संज्ञा समेत दिएका थिए ।
केही समय पहिले बसेको राष्ट्रिय विकास समस्या समाधान उप–समितिको बैठकमा भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखाएको छ । जुन आफैमा विरक्तको कथा बनेको छ ।
भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रस्तुत गरेको मन्त्रालयको विवरण अनुसार पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.४८ प्रतिशत मात्रै छ ।
समग्रमा मन्त्रालयले वित्तीय प्रगति ४०.४९ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको विवरण प्रस्तसत हुँदा ओलीले टिकट काटन भनेको आयोजनाको कामको अवस्था दुरुहपूर्ण रहेको छ । दास्रो त्रैमासमा समेत भौतिक र वित्तीय प्रगति पहिलोको भन्दा फरक नहुने अवस्था कायम नै छ । किनकी कुनै काम नै भएको छैन पानीजहाजमा ।
यस्तै, ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा रहेको सडक विभागको कार्यालयमा पानीजहाज कार्यालय उद्घाटन गरे ।
पानीजहाज कार्यालयको उद्घघाटन गर्दै उनले त्यसदिन पनि अब केही महिनामै पानीजहाजको टिकट काट्न पाइने दावी गरेका थिए । उनले आफ्ना पार्टी भित्र र बाहिरका विरोधीलाई संकेत गर्दै भनेका थिए ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ ।’
उनले त्यस दिन अघिल्लो वर्ष भारत भ्रमण जानुअघि नै पानीजहाजको सम्भावना देखेपछि जलमार्ग र रेलमार्ग बनाउनको लागि प्रस्ताव गरेको तर्क गरेका थिए ।
उनले आफ्नो पानीजहाज चलाउने सपनालाई धेरैले हमला गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए त्यसदिन पनि । उनले पाँच÷सात जनालाई जागिर खुवाउनको लागि मात्रै पानीजहाज ल्याउन नखोजेको पनि बताएका थिए । तर अवस्था उनले भने जस्तै नै छ ।
काठमाडौं चक्रपथ सुधार योजनाको ११ कोठे भवनलाई कार्यालय भनिएको छ । नाम पानीजहाज कार्यालय भएपनि कार्यालयमा पानी समेत उपलब्ध छैन ।
सहसचिव स्तरका रजिस्ट्रारसहित १६ जना कर्मचारी दरबन्दी कायम गरिएको सो कार्यालयमा हाल सहसचिव नै छैनन् । उपसचिव स्तरका कर्मचारी छन् । अन्य कर्मचारी पनि कोही प्राविधिक छैनन् ।
सरकारले उक्त कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको थियो । कार्यालयमा न त कर्मचारी, न त, अध्ययन , न त बजेटको अवस्थामा छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी यसबारेमा प्रतिक्रिया दिन नै डराउँछन् । उनीहरु कोही पनि बोल्न तयार छैनन् ।
पानी जहाज कार्यालयले कोसीमा यसअघि नै सञ्चालनमा आएका स्टिमर दर्ता गरेर बसेको छ । यस्तै, चितवनको नारायणी नदीमा चलाइएको स्टिमरलाई पानी जहाज चलाएको भन्दै रमाएको छ । डुंगा तथा स्टिमर दर्ता गर्न ल्याउन भनेको छ ।
ओलीले कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिएका थिए । तर, पानीजहाज कार्यालय भने न त नीति, न त योजना न त कार्यक्रमको अवस्थामा छ ।
यतिखेर पनि ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सोध खोज गर्नेको संख्या उस्तै रहेको छ । पछिल्ला दिनमा ओलीले अवस्था बुझेर हो वा काम हुँदैन भन्ने लागेर हो, पानीजहाजको कुरा गर्न छाडेका छन् ।
भौतिक पूर्वाधारका जानकार तथा विज्ञहरुका अनुसार पानीजहाज कार्यालयको उद्घघाटन भएपनि त्यसलाई चाहिने साधन स्रोत र कर्मचारी उपलब्ध हुन सकेको छैन ।
नेपालको कोशी तथा गण्डकी नदीमा पानीजहाज चलाउने विषयमा अध्ययन गरेका माधव बेल्वासे, खानेपानी मन्त्रालयका सचिव छन् । उनले तत्कालीन समयमा आफूहरुले अध्ययन गरेर प्रतिवेदन बुझाएको भएपनि अहिले कुन अवस्थामा छ आफूले भन्न नसक्ने बताउने गरेका छन् । उनको केही समयपछि अवकाश हुन लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता हुँदै वाराणसीसम्म ल्याएको पानी जहाज समेत चल्न सकेको छैन । वर्षायामममा केही दिन चलाइएपनि हिउँदमा पानीजहाज बालुवामा धसिएका कारण चलाउन समस्या भएको भारतीय सञ्चारमाध्यमले समाचार विवरण सार्वजनिक गरेका थिए ।
भारततिर बालुवामा धसियो
भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको थियो । सोही आधारमा प्रधानमन्त्री ओलीले पनि कोसी र नारायणीमा जहाज चलाउन सकिने भन्दै संसदमा उभिएर टिकट काटन तयार भएर बस्न भनेका थिए । उता नचलेपछि यता चल्ने करा नै भएन । त्यसकारण पानीजहाज कार्यालय पानी नै नपाएर तिर्खाएर बसेको छ ।
प्रधानमन्त्री ओलीले भारतले गण्डकमा आफ्नो तर्फ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भइसकेको बताएका थिए । तर, जानकारहरुले भने बालुवामा जहाज धसिएपछि भारतले पनि तत्कालका लागि पानीजहाजको योजना स्थगित गरेको बताएका छन् ।
राज्यको कार्यकारी व्यक्तिले कुन हदसम्म गलत र पूरा नहुने विषयलाई उचालेर भाषण गर्दा रहेछन् भन्ने तथ्य पानीजहाजले स्थापित गरिदिएको छ । उनीहरुको भनाई र गराईबीचको अन्तर आकाश जमिनको जस्तै रहेको देखिन्छ ।
प्रधानमन्त्रीजस्तो सम्मानित पद धारण गरेका व्यक्तिले दिएको गलत भाषण कार्यान्वयन हुन सकेको छैन । बोली र काम गराईमा ताादम्य मिलाउने भनिएका कम्युनिस्ट प्रधानमन्त्री आज ३ वर्षपछि आफैले टिकट काट्न आउन भनेकालाई कहाँ लगेर पानीजहाज चढ्लाउन भन्ने प्रश्न खडा भएको छ ।
पूरा नहुने झूटको आयू कति होला ? प्रधानमन्त्रीले टिकट काटन आउनु भनेका नागरिकलाई उत्तर दिन पनि चाहेका छैनन् । झुटको पर्दा उघ्रिएको समेत उनलाई पत्तो छैन । मंगलबार नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रदर्शनीमार्गमा उभिएर उनै ओलीलाई सोधेका थिए ‘ कमरेड ओली कहाँ पुग्यो पानीजहाज ? कहाँ पुग्यो घर घरमा ग्यासको पाइप लाइन ?’
न त जहाज, न त टिकट
२०७५ असार १४ गते प्रधानमन्त्री ओलीले सरकारले पानी जहाज सञ्चालनको व्यापक गृहकार्य गरिरहेको बताएका थिए । यस्तै सोही सालको पुस १६ गते सप्तरीको पुरानो सदरमुकाम हनुमानगर आउन निम्तो नै दिएका थिए । आज निम्तो दिएको पनि ठ्याक्कै २ वर्ष पूरा भएको छ ।
तर, हनुमान नगरमा न त पानीजहाज छ । न त काठमाडौंमा ओलीको दुई तिहाईको सत्ता नै । संविधान विपरित विघटन गरिएको प्रतिनिधिसभाका सदस्य समेत नरहेका प्रधानमन्त्री केवल कामचलाउ मात्रै छन् ।
प्रधानमन्त्रीले भनेको अर्को भाषण पनि हेरौ । उनले भनेका थिए ‘ रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । हेर्दाहेर्दै हनुमाननगरबाट रेल चल्छ । अहिले सन् २०१८ हो, सन् २०१९को शुरूमै जहाज चल्छ । पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ । सबैलाई निम्तो छ ।’
तथ्य परिक्षण गरौ । ओलीले गरेको भाषणको । यतिखेर न त हनुमाननगरमा स्टिमर छ । स्थानीयले आफनो दैनिक जीवन चलाउन तयार पारेको काठको डुंगा भन्दा अरु केही पनि छैनन् हनुमाननगरमा ।
भारतबाट ल्याइएको रेल पनि मीनपचासको ठिही तापेर बसीरहेको छ, धनुषामा । रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराई ओली विरोधी खेमालाई सामाजिक सञ्जालमा गाली गरेर बसीरहेका छन् । रेल चलाउने तर्फ उनको कुनै ध्यान छैन ।
प्रधानमन्त्री ओलीले नेपालको पानीजहाजलाई पुस १६ गते कलकत्तामा स्वागत गरिने बताएका थिए । बिहिबार आज पुस १६ गते नै हो । कही कतै पानीजहाजको स्वागत गरिने समाचार आएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव श्रेष्ठले पानीजहजाको विषयमा अझै धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय योजना आयोगको समिक्षा बैठकमा बताएका थिए ।
उनले धेरै अध्ययन तथा लगानी आवश्यक पर्ने समेत बताएका थिए । पानीजहजाको विषय सुन्दै आएका सचिव मधुसुदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव छन् ।
ओलीले निम्तो दिएको अघिल्लो पुस पनि त्यत्तिकै बित्यो । यस वर्षको पुस पनि त्यत्तिकै बित्नेवाला छ । तर पानीजहाज चल्नु त कता हो कता, कार्यालयले समेत कर्मचारी पाएको छैन ।
संसद र सार्वजनिक कार्यक्रममा विरोधीलाई गिल्ला गर्दै भाषण गरेका प्रधानमन्त्री ओली यतिखेर आफै गिल्ला र हाँसोको पात्र बनेका छन् । विगतमा विपक्षीले पूरा नहुने सपना भन्दा उनीहरु विरुद्ध खनिएका प्रधानमनत्री यतिबेला के भन्दा हुन् ? आम जनताको चासो छ ।
पानीजहाजको विषयमा अध्ययन गरेका एक सचिवका अनुसार नेपालका नदीमा पानीजहाज चल्न सक्छन् कि सक्दैनन् ? भन्ने नै थाहा नपाउने प्रधानमन्त्रीको सनकमा सो कार्यक्रम अगाडि सारियो ।
नेपालका नदीमा स्टिमर चलाउने हो कि पानीजहाज ? भन्नेमा कोही कसैलाई पनि थाहा छैन । जलयातायात विज्ञ पनि नेपालमा छैनन् ।
रमाइलोका लागि स्टिमर चलाउन त सकिन्छ । तर कहाँको स्टिमर, कहाँको पानीजहाज , आकाश जमिनको फरक छ । जानकारहरुले नदीमा जलसतह कम भएको र गहिराई समेत कम भएकाले नेपालका नदीमा पानीजहाज चलाउन नसकिने बताउँदै आएका छन् ।
पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए ‘ केही महिनाभित्रै पानीजहाज सञ्चालन गर्न सक्नेगरी आवश्यक जनशक्ति र योजना बनाइन्छ ।’ तर, उनले भनेको केही महिना कहिले आउने हो, कुनै ठेगान छैन । बरु पानीजहाजको कार्यालयसँग एउटा बोर्ड छ । केही कर्मचारी छन् । मिनपचासको जाडोमा घाम ताप्छन् र खाजा खाएर घर फर्कन्छन् ।